
जनकपुरधाम : जनकपुर बमकाण्डमा संलग्न रहेका पूर्वराज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरले ११ वर्षको कैदको सजाय सुनाएको छ ।
विक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले साेमबार पूर्वराज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो ।
फैसलामा साहलाई ज्यान मार्ने मुद्दामा ११ वर्ष कैद र षड्यन्त्र रचेको ठहर गरिएको छ । यसअघि जिल्ला अदालत धनुषाले साहलाई २०७५ सालमा मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।
साह हाल काठमाडौंस्थित नख्खु कारागारमा छन् । उनी धनुषा क्षेत्र नम्बर–३ बाट संविधानसभाको दुवै निर्वाचनमा जित हासिल गरेका थिए । पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सांसद रहेकै बेला दिल्लीबाट पक्राउ गरिएको थियो ।
२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा अभियानीहरूले गरेको धर्नालाई लक्षित गरी बम विस्फोट गराउँदा मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झासहित ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।