
जनकपुरधाम : जनकपुरधाममा श्रीराम जानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ । जानकी मन्दिरमा शुक्रवार भएको सर्वपक्षीय बैठकमा यसपालि मसिंर १७ गते देखि २३ गते सम्म विवाहमञ्चमी महामहोत्सव मनाउने निर्णय गरिएको छ ।
महोत्सवको कार्यतालिका अनुसार मसिंर १७ गते जनकपुरधाम नगर दर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुषा यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते शुभविवाह र २३ गते रामकलेवा आयोजना हुनेछ । त्यसैगरि महामहोत्सव सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समिति, उपसमिति तथा अनुगमन उपसमितिहरु गठन गरिएको छ ।
जस्मा शान्ति सुरक्षा व्यवस्था उपसमिति, प्रचार प्रसार उपसमिति, बजार व्यवस्था, रंगभूमि गेट, पण्डाल व्यवस्था, ट्राफिक व्यवस्था, खानेपानी, विद्युत आपूर्तिसहित १७ विभिन्न समिति तथा उपसमितिहरु रहेका छन् । सर्वपक्षीय बैठकमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास दर्शनार्थीको स्वागतमा कुनै कमि नगर्न जनकपुरबासीसँग अपिल गरेका छन् ।
उनले भने, ‘यसअघिको विवाहपञ्चमी महोत्सवहरुमा भएको कमि कमजोरीलाई सुधार गर्दै राम्रो संग आ–आफनो जिम्मेवारी र कर्तव्य पूरा गरि महोत्सव व्यवस्थापन सम्बन्धी संस्था, समिति तथा निकायहरु एक भएर लाग्नु पर्दछ ।’ अत्याधिक भक्तजन तथा दर्शनार्थीको सहभागिता हुदै आएको विवाहपञ्चमी महोत्सव नेपालमै सबै भन्दा बढि भिडभाड हुने मेला मध्येको एक हो । मेलामा आउने दर्शनार्थीका लागि बासस्थान, भोजन तथा पानिको प्रबन्ध मिलाउन समेत उनले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
महोत्सवमा नेपाल प्रहरी, ट्राफिक र सशस्त्र समेत व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन हुनेछ । यससंगै सेना तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी समेत विभिन्न किमिसबाट सहयोग गर्नेछ । शुक्रबार सर्वपक्षीय बैठकमा जनकपुधामका बुद्धिजीवी, विभिन्न संघसंस्थाक प्रतिनिधि, व्यापारी, सर्वसाधारण, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।