
जनकपुरधाम : प्रदेश २ को सरकार पुनर्गठन हुने भएकोछ ।प्रदेश सरकारमा माधव कुमार नेपाल नेतृत्वको नेकपा (समाजवादी) पार्टीबाट मंगलवार मन्त्री थपिने भएकोछ ।
उच्चस्रोतका अनुसार प्रदेश सरकारमा रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका रामनरेश यादवलाई हटाइने भएकोछ ।सरकारले यादवलाई राजिनामा गर्न संकेत गरिसकेको उच्चस्रोतले जनाए । स्रोतका अनुसार नेपाल समुहबाट सरकारमा नेतृत्व गर्ने सत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र अर्को कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिने भएकोछ । नेपाल समूहले सरकारमा दुईवटा मन्त्रालय पाएको छ ।
यादवलाई हटाएर महतोले पाउने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय व्यवस्थित रहेपनि कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको बजेट रकमान्तरण गरी मुख्यन्यायाधिवक्ताको कार्यालयमा थपिएको छ । जनता समाजवादी पार्टी(जसपा)को नेतृत्वमा रहेको प्रदेश २ सरकारमा अब नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको सहभागिता हुने भएकोछ ।नेकपा समाजवादीको तर्फबाट मन्त्रीहरुको सपथग्रहण मंगलवार हुने तयारी गरिएको उच्चस्रोतले जनाए ।
तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) को कोटाबाट महेन्द्र यादव पक्षबाट मन्त्री बनेका रामनरेश यादव हाल जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समितिमा छन् ।संघीय सरकारमा कृषि मन्त्री महेन्द्र यादव भए लगतै उनको कोटामा प्रदेश मन्त्री बनेका यादवलाई हटाइने भएकोछ । यस अघि यादवको मन्त्रालय टुक्रयाएर महतोलाई दिने तयारी गरिएको थियो ।तर मन्त्री यादवलाई सरकारबाट नै हटाउने निर्णय उच्चस्तरमा भइसकेको छ ।
समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहका अनुसार प्रदेश संसदीय दलका नेताको हैसियतमा महतो मन्त्री हुने निश्चित रहेकोछ ।तर अर्का मन्त्रीको नाम चयन भइसकेको छैन् ।केन्द्रीय कमिटी बैठक चलिरहेकोले सोमवार बस्ने प्रदेश समितिको बैठकले सरकारमा पठाउने अर्का मन्त्रीको टुंगो लगाइने साहले बताए । स्रोतका अनुसार बेची लुंगेलीलाई महिला कोटाबाट सरकारमा पठाउन सक्ने संभावना रहेको छ ।तर उनको नामपनि टुंगो लागिसकेको छैन् ।
यस चर्चामा रहेका सुन्दर विश्वकर्मा मन्त्री बन्ने दौडबाट बाहिरिसकेका छन् ।विश्वकर्मा एमालेमै रहने बताइएपनि दल बदल सम्बन्धी अन्तिम दिन उनले नेकपा समाजवादी रोजेका थिए । पर्यटन मन्त्री यादव हाल गृह जिल्ला सर्लाहीमा संघीय मन्त्री यादवसँगै विभिन्न योजनाहरुको शिलान्यास र उद्घाटनमा सकृय छन् । उनी आईतवारपनि विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् ।सरकारबाट राजिनामा गर्न उनलाई संकेत मिलेपनि सरकारमा नै रहिरहन उनले उच्च नेतृत्वमाथि दवाव सृजना गरिरहेको बताइन्छ ।
यस सम्बन्धमा मन्त्री यादवसित पटक पटक सम्पर्क गर्ने प्रयास गरिएपनि सफल हुन सकेन् ।मन्त्री यादवकी निकट सहयोगी मानिएकी एकजना प्रदेश सभासदस्यले केही महिना पूर्व उनको साथ छाडेकी थिईन् । नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्याउँदा आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहालाई हटाइएको थियो ।सो मन्त्रालयमा भरत साह मन्त्री र रुबी कर्ण राज्यमन्त्री छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई भौतिक विकास मन्त्री बनाउन तत्कालीन सत्तासाझेदार जनता समाजवादी पार्टी(पूर्व राजपा)का मन्त्री जितेन्द्र सोनललाई हटाइएको थियो ।
थप दुई नयाँ मन्त्रालय दिइएको थियो । प्रदेश सरकारमा हेरफेर नहुनेमा मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिसोर साह मात्र छन् । आर्थिक मन्त्रालयबाट विजय कुमार यादव कृषि तथा सहकारीमा र शैलेन्द्र कुमार साह कृषि तथा सहकारीबाट अर्थ मन्त्रालयको परिवर्तित जिम्मेवारी निर्वाह गरिरहेका छन् । रामनरेश यादवलाई सरकारबाट हटाइएसँगै जातिय समिकरण बिग्रने बताइएको छ ।संघीय गठबन्धन अनुसार नै प्रदेश २ मा नेकपा समाजवादीलाई सरकारमा ल्याउन लागिएको एकजना मन्त्रीले बताए । आजको जनकपुर टुडेमा यो खबर छ ।