नेपालवाणी

जनकपुरधाम, कार्तिक ।
जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठामा भएको दुईपक्षीय विवादमा फेरी आज आईतवार एक जना घाईते भएका छन् । धनुषाको जनकपुर २० देवपुरा स्थित दुईपक्षीय विवादलाई साम्य गर्न पुगेका वडा सदस्यलाई भाटाले हानेर टाउँको फुटाईदिएका छन् ।
घाईते हुनेमा जनकपुरधाम उप–महानगरपालिका २० का वडा सदस्य ६६ वर्षिया महन्था महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धार्मिक सद्भाव भडकिएर दुई समुदायबीच छठ पर्वको समयदेखि नै झडप हुँदै आएकोमा हाललाई निषेधाज्ञा जारी छ ।
पछिल्लो समय जनकपुरमा सद्भाव र एकताका साथ मनाइने छठ पर्वकै दिन साम्प्रदायिक दंगा भडकियो । छठ पर्वका दिन पोखरीमा अर्घ राख्ने विषयलाई लिएर सुरु विवाद उग्र भयो । देवपुरा रुपैठामा झण्डै दश वर्षयता प्रायः हरेक धार्मिक महोत्सवहरुमा साम्प्रदायिक दंगा भडिकएर प्रहरी परिचालन गर्नुपरिरहको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए ।
हिन्दुहरुले वर्षौंदेखि तेलिया पोखरीमा छठ मनाउँदै आइरहेको छ । पोखरीको डिलभन्दा केही पर मुस्लिम समुदायको बसोबास छ । शनिबार बिहानै देखि दुई समुदायबीच झडप र विवाद हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी ग¥यो । तेलिया पोखरीमा छठ पूजाका लागि घाट निर्माण गर्ने विषयमा विवाद हुँदा झडप भएको थियो ।
प्रहरीको हस्तक्षेपछि विवाद साम्य भएर पोखरीमा छठ पर्व मनाइयो । तर छठ मनाउन सशस्त्र प्रहरीले त्यहाँ क्याम्पनै खडा गरेर २४ घण्टे पहरा दिनुप¥यो । अहिले पनि शान्ति सुरक्षा तथा जनधनको क्षति हुन नदिन निषेधाज्ञा सहित बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रमुख बसन्त रजौरेले जानकारी दिए ।

साम्य भएको विवाद शनिबार नारा जुलुस गर्दै केही हिन्दुवादी संघ संगठनका अगुवाहरु त्यहाँ पुगेपछि विवाद फेरी बल्झियो । मोटरसाईकल सहितको नारा जुलुशलाई प्रहरीले जनकपुर विमानस्थल नजिकै रोक्न खोजेका थिए तर उनीहरु त्यहाँ रोकिएनन् । त्यसपछि झडपका क्रममा दुवै समुदायबीच ढुंगामुढा हुँदा ३ प्रहरी सहित ४ जना घाइते भए ।
दुवै समुदायबीच विवाद उग्रहुँदै गएपछि शान्ति व्यवस्था कायम गर्न आइतबार राति १० बजेसम्म निषेधाज्ञा आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । वडामा निषेधाज्ञा जारी गरिए पनि अवस्था तनावपूर्ण नै रहेको खटिएका एक सुरक्षाकर्मीले बताए । मौका पाएपछि हिन्दुले मुस्लिम र मुस्लिमले हिन्दु समुदायलाई कुटपिट गर्ने क्रम रोकिएको छैन । सोही अनुरुप दुईपक्षीय विवाद साम्य गर्न पुगेका वडा सदस्यलाई भाटाले हानेर टाउँको फुटाईदिएको छ ।
हिन्दु समुदयाकै बाहुल्य रहेको देवपुरामा मुस्लिम समुदाय पनि कम छैनन् । देवपुरा रुपैठामा धार्मिक सद्भाव भडकिएर पटक पटक विवाद हुने गरेको छ । दसैंका बेला मुर्ती सेलाउने क्रममा होस् वा इस्लाम धर्माबलम्बीहरूले ताजिया खेल्ने क्रममा लगभग हरेक वर्ष त्यहाँ विवाद हुन्छ । गत भदौ महिनामा गणेश पूजामा समेत साम्प्रदायिक दंगा भएको थियो ।
अन्य समय सद्भाव कायमै रहे पनि चाडपर्वका बेला एक समुदायले अर्कोलाई होच्याउने व्यवहारका कारण साम्प्रदायिक दंगा हुने गरेको जिल्ला सुरक्षा समन्वयन समितिको ठम्याई छ ।


२०७८ कार्तिक २९, सोमबार १२:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय