
जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक बिदा घोषणा गरेको महोत्तरीको रामगोपालपुर नगरपालिकाको तीव्र आलोचना भएपछि मेयरले विदा कटौती गरेका छन् ।
मेयर अशोककुमार मण्डलले सार्वजनिक बिदा कटौती गरेर नगरपालिकाभित्रका शैक्षिक संस्था मात्र बन्द रहने निर्णय गरिएको जानकारी दिए ।
माओवादी अध्यक्ष प्रचण्ड बुधबार महोत्तरी जाँदैछन् । प्रचण्ड आउने भएपछि नगरपालिकाका मेयर अशोककुमार मण्डल र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्णले मंगलबार संयुक्त रुपमा सूचना जारी गर्दै बुधबार नगरपालिकामा बिदा रहने जनाएका थिए ।
तर, यो बिदाको आलोचना भएपछि मेयर मण्डलले भुलबस सार्वजनिक बिदा लेखिन गएको भन्दै अर्काे सूचना प्रकाशित गरेका छन् । उनले दाजुभाइको दीर्घायु तथा समृद्धिको लागि दिदीबहिनीहरूबाट गरिने सामाचकेवा पर्वको अवसरमा मंसिर १ र २ गते नगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरुमा मात्रै विदा रहने सूचनामा उल्लेख गरेका छन् । अनलाइन खबरबाट