
काठमाडौं : विश्वको महाशक्ति मानिने अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा धनी देश बनेको छ । विश्वका सबै देशहरुको आर्थिक सन्तुलन परीक्षणको निरन्तर निगरानी गर्ने व्यवस्थापन कन्सल्टेन्ट म्याकेन्जी एण्ड कम्पनीको रिसर्च शाखाको रिपोर्टलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएअनुसार पछिल्लो २ दशकमा विश्वभरीको सम्पत्ति ३ गुणा बढेको छ । यी सम्पत्तिको चीनको हिस्सेदारी एक तिहाइ अर्थात ३३ प्रतिशत छ ।
रिपोर्टका अनुसार सन् २००० मा विश्वको कूल सम्पत्ति १५६ खर्ब डलर थियो जुन २ दशकपछि अर्थात सन् २०२० पछि बढेर ५१४ खर्ब डलर भएको छ । रिपोर्टका अनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ खर्ब डलर थियो । यो २०२० सम्म तीब्र रुपमा बढेर १२० खर्ब डलर पुगेको छ ।
अमेरिकाको सम्पत्ति विगत २ दशकमा बढेर २ गुणा भएको छ । सन् २०२० मा अमेरिकाको सम्पत्ति बढेर ९० खर्ब डलर भएको छ । रिपोर्टका अनुसार अमेरिकाको सम्पत्तिको मूल्यमा धेरै वृद्धि नभएका कारण अमेरिकाको सम्पत्ति चीनको तुलनामा कम रह्यो र अमेरिकाले आफ्नो पहिलो स्थान गुमायो ।
रिपोर्टका अनुसार चीन र अमेरिकाको धनको ठूलो हिस्सा केही धनी व्यक्तिहरुमा मात्रै सीमित छ । रिपोर्टका अनुसार यी दुवै देशमा १० प्रतिशत जनतासँग सबैभन्दा धेरै धन छ । रिपोर्टका अनुसार यी देशहरुमा धनीहरुको संख्या तीब्र रुपमा बढिरहेको छ जसका कारण धनी र गरिब देशहरुबीच ठूलो अन्तर देखिन थालेको छ । विश्वभरीको कूल सम्पत्तिको ६८ प्रतिशत अचल सम्पत्तिको रुपमा छ । बाँकी सम्पत्तिमा आधारभूत संरचना, मेसिन र उपकरणहरु पनि छन् ।