जनकपुरधाम : प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि विकास र पर्यटनसँग जोड्न आग्रह गरेका छन्। जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा आजदेखि जनकपुरधाममा सुरु भएको रामायण सर्किट तथा मिथिला–अवध सम्बन्धबारे आयोजना गरिएको कार्यक्रममा प्रदेश प्रमुख मिश्रले जनकपुरधाम र अयोध्याबीचको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन सडक, रेल तथा हवाईमार्गबाट जोडेर पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिन आवश्यक भएको बताए।

प्रदेश प्रमुख मिश्रले दुवै देशका सरकारले रामायण सर्किटको विकासका लागि थप सहकार्य गरेर कामकाज गर्न आवश्यक भएको बताए। उनले विसं २०७५ वैशाख २८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरूपमा उद्घाटन गरेकाे जनकपुरधाम–अयोध्या बससेवा पुनः सञ्चालन गर्न दुवै देशबीच समन्वय भइरहेको बताए।

नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली सुवासनी अरुण तिलकाले नेपाल, भारत र श्रीलङ्कालाई जोडेर रामायण सर्किटको विकास गर्ने धेरै आधारहरू श्रीलङ्कामा रहेको बताउँदै ती ठाउँको संरक्षण गर्ने काम श्रीलङ्का सरकारले गरेको बताए।

अयोध्यामा राम मन्दिर निर्माणमा सक्रिय रहेका राजेन्द्रसिंह पङ्कजले नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनमा रामायण सर्किटले योगदान गर्ने बताए। विश्व हिन्दू परिषद् भारतका केन्द्रीय उपाध्यक्ष जिवेश्वर मिश्रले धर्म संस्कृतिको रक्षाबिना कुनै पनि देशको विकास सम्भव नहुने बताउँदै रामायण सर्किटको विकासका लागि भारत सरकारले काम गरिरहेको बताए।

कार्यक्रममा बोल्दै जनकपुरधामका प्रमुख लालकिशोर साहले भगवान् रामले जनकपुरधाममा आएपछि सार्थकता पाएकाे र जनकपुरधामबिना रामायण अधुरो रहेकाले रामायण सर्किटलाई जनकपुरसँग जोड्न अतिआवश्यक रहेको बताए। प्रमुख साहले जनकपुरधामको इतिहास त्रेतायुगदेखि नै रहेकाले जनकपुरधाम अब धामको रूपमा स्थापित हुन लागेको उल्लेख गरे।

त्यस्तै कार्यक्रममा भारत युपीका कमिशनर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाई सेवा र रेलमार्गको काम हुने बताए। कमिशनर सिंहले अयोध्याबाट जनकपुरधाम जोड्न बस सेवा सुरु हुने साथै डबल लाइन रेल्वे ट्रयाकको निर्माण भइरहेको बताए। जनकपुरधाम उपमहानगरपालिकाको आयोजना एवं राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको सहआयोजनामा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने जनाइएको छ।


२०७८ मंसिर ५, आईतवार १०:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय