
जनकपुरधाम, मंसिर, ७ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री रामचन्द्र झा औपचारीक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट नेकपा माओवादी हुँदै डा. बाबुराम भट्टराईसंग नयाँ शक्तिमा गएका नेता झा पुनः माओवादी हुँदै नव नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेका हुन् ।
धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं २ को तिनकौरीयामा मंगलवार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता झा सहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नव प्रवेशी झा लाई फूलमाला, गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए । नेकपा एमालेवाट नेकपा माओवादी केन्द्र हुदै झा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
यसैगरि जनकपुरधाम उप–महानगरपालिका क्षेत्रवाट बरिष्ठ दन्त चिकित्सक डा. अजय कुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । मिथिला अस्पताल प्राईभेट लिमिटेड र मिथिला टेक्नीकल एकेडमीका सञ्चालक समेत रहेका डा. झा नेपाली कांग्रेसको भातृसंगठन नेविसंघबाट आफ्नो राजनितीक यात्रा सुरुवात गरेका थिए । डा.झा नेविसंघ धनुषाका जिल्ला अध्यक्ष समेत रहिसकेका हुन् ।