
काठमाडौं : नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारीले दिएको जानकारी अनुसार दुई विदेशी नागरिकमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नयाँ भेरियन्ट देखिएका दुवै जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए ।
सह–प्रवक्ता अधिकारीका अनुसार ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेमा एकजना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का ७७ वर्षीय व्यक्तिमा संक्रमण देखिएको छ ।
ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना गत मंसिर ३ गते नेपाल प्रवेश गरेका थिए । उनीहरुको मंसिर ७ गते परीक्षण गरिएको थियो ।
दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको यो भेरियन्ट अहिले भारतसहित विश्वका ४० भन्दा धेरै देशमा फैलिएको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले यो भेरियन्टबाट नआत्तिन तर सचेत रहन आग्रह गरेको छ ।