
जनकपुरधाम: नेपाल सरकारले खरिद गरेको दुई वटा रेलको ईन्जिन लामो समयदेखि खुल्ला ठाउँमै राखिएको कारण बिग्रिंदै गएको छ । दुई वटा बोगी सहितको रेल करिव दुई वर्षदेखि धनुषाको इनरवा स्टेशनमा थन्किएको छ ।
रेलको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । सशस्त्र प्रहरीले २४ औ घण्टा हतियारसहित रेलको सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।
लामो समयदेखि रेल एउटै स्थानमा राखिएकोले दुबै रेलको बैट्री, चक्कासँग जोडिएर रहेको पिस्टन, जेनरेटरका बैट्री, लगायतका समान खराब भईसकेको छ । त्यसै गरी नेपालको झण्डाको रंङले पेन्ट गरिएको उक्त रेलको रंग पनि बिग्रिन थालेको छ । सुरुको दुई तीन महिना सम्म रेलका दुबै ईन्जिनलाई समय–समयमा स्टार्ट बन्द गरिन्थ्यो । तर करिब १ वर्षदेखि रेलको इन्जिन जस्ताको त्यस्तै अवस्थामा रहेकोले ईन्जिनमा प्राविधिक गडबडी हुने सम्भावना बढेर गएको छ ।
रेल्वेका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने,‘ कहिले कांही रेलको निरीक्षण गर्न जनकपुरधामबाट हाकिमहरु आउंछन, बाहिरबाटै देखेको जस्तो औपचारिकता पूरा गर्छन् अनि फर्किन्छन् । उहाँहरु हामीसँग कुनै कुरो शेयर गर्नु हुन्न ।
तर उनीहरुले एक आपसमा दुई रेलको बैट्री खराब भईसकेको र नयाँ बैट्री लगाएपछि मात्रै रेल चलाउन सकिन्छ भनेर कुराकानी गर्ने गरेको आफुले सुनेको छुं।’ यता, नेपाल रेल्वेका इन्जिनियर रोशन कुमार देवले पनि लामो समयदेखि एउटै स्थानमा रेल पार्क गरिएकोले बैट्री, पिस्टन लगायतका सामान बिग्रिसकेकोले फेर्नु पर्ने अवस्था रहेको बताए ।
रेलको इन्जिन गुडाउन तत्काल सर्भिसिङ्ग आवश्यक भएकाले ३५ देखि ४० लाख सम्म खर्च लाग्न सक्ने उनले बताए । तत्काल रेल संचालन हुने अवस्था नरहेकोले ती बिग्रेका समानहरु नफेरिएको उनले जानकारी दिए ।
बजेट अभावको कारण रेलको सञ्चालन नै हुन नसकेको अवस्थामा थन्काएर राखिएको ईन्जिन मरम्मत सम्भार तर्फ ध्यान नजानु स्वभाविक हो । बिग्रेको ईन्जिन मरम्मत गर्न भारतीय प्राविधिक नै आउनु पर्ने भएकोले रेल सञ्चालन हुने समयमै ईन्जिनको मरम्मत गरिने उनले बताए ।