
गोलबजार (सिरहा) : छुरा प्रहार गर्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा सिरहाको गोलबजारमा पूर्वपश्चिम राजमार्ग विहानैदेखि अवरुद्ध गरिएको छ । राजमार्ग अवरुद्ध भएपछि हजारौं सवारी साधन र यात्रु अलपत्र छन् ।
शनिवार साँझ छुरा प्रहार गर्दा गोलबजार नगरपालिका ६ का २६ वर्षीय रामकुमार सदायको मृत्यू भएको थियो । छुरा प्रहारबाटै उनकै एक साथी घाईते समेत छन् । सो घटनामा संलग्नलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रहरीले प्रतिवद्धता जनाएपनि पक्राउ नगरेपछि गोलबजार नपा ६ का बासिन्दा आन्दोलित छन् ।
उनीहरुले विहान करिब ११ बजेदेखि नै राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरी खुलाउने प्रयास गरेको थियो । तर आन्दोलनकारीले प्रहरीलाई नै लखेटेर भगाएका छन् । अहिले राजमार्ग आन्दोलनकारीको कब्जामा छ ।
प्रहरीले बल प्रयोग गर्न खोज्दा आन्दोलनकारीसँग झडप समेत भएको छ । झडपमा मृतृक सदायका बहिनी र अन्य केहि आन्दोलनकारी घाईते भएको बुझिएको छ । अहिले गोलबजारको अवस्था तनावग्रस्त छ । बजार समेत बन्द छ ।