काठमाडौँ : आज कांग्रेस र उसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फकिएको सम्झनामा यो दिवस मनाइँदै आइएको छ ।

१६ पुस २०३३ मा नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरेका कोइरालालगायत नेता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर आजभन्दा ४५ वर्षअघि स्वदेश फर्किएका थिए । देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यानको बाजी थापेर स्वदेशमै फर्किएका थिए ।

१ पुस २०१७ मा तत्कालीन राजा महेन्द्रको ‘कू’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष २६ फागुनमा उनलाई सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो ।

बिपीलाई आठ वर्षपछि २०२५ मा उपचारका लागि रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएकोदेखि राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४५ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका थिए ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजलमा लगेर फेरि बन्दी बनाइएको थियो । २७ जेठ २०३४मा मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एकपटक सुन्दरीजल बन्दीगृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । २४ रोपनी क्षेत्रफलको बन्दीगृहलाई १४ भदौ २०६१ मा बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) तथा जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थिए । बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो ।

कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा चिनिन्छन् । १६ पुस २०३३ मा मेलमिलाप नीति लिएर फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।


२०७८ पुष १६, शुक्रबार ११:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय