
जनकपुधाम : विगत तीन वर्षदेखि विवाहपञ्चमीमा भारतको जयनगरबाट जनकपुरसम्म रेल चल्ने हल्ला भएपनि अहिले सम्म नचल्दा यस क्षेत्रका स्थानीयहरुको रेल चढ्ने आशा निराशामा परिणत भएको छ । ‘उमेरले अब साथदिन छोडयो, मोटरसाईकलमा आउँदा जाँदा समस्या हुन्छ, रेल चढेर जानकी मन्दिर दर्शन गर्ने ईच्छा थियो, विवाहपञ्चमी मेला भर्न पहिला जस्तै रेलमा चढेर आउने जाने रहल थियो, तर रहर पूरा हुने छाँटकाँट छैन ।’
जनकनन्दनी गाउँपालिकाकै उमेरले ८० कटेकी जोगनी दासले भनिन, ‘रेल नचल्दा जनकपुर बजार नपुगेको झण्डै १० वर्ष हुन लाग्यो, रेल चल्दा आउन जान सजिलो हुन्थ्यो, रेल बन्द भएपछि जनकपुर अहिले सम्म एकपटक पनि जान सकेको छुईन ।’ ‘बिवाह पञ्चमीमा चलाउने तयारीको भाका पनि टरेको टर्यै छ । तर खै यो आँखाले रेल चलेको पनि हेर्न पाउँछु की पाउँदिन’ उनले दुःखेसो पोखिन् ।
जनकनन्दनी गाउँपालिकाकाका ८० वर्षिय मो. हामिद साफि बुढ्यौली कम्मर समाउँदै भने, ‘रेल चलाउने कुरा सुनेको सुन्यै छु तर खै कहिले आउँछ रेल ? रेल चल्ने कुरा त अब बच्चा बुच्चिको खेल जस्तै भयो ।’ ‘जहिले पनि रेल चल्ने कुरा हुन्छ तर हिले चल्छ अत्तोपत्तो छैन’ जनकनन्दनी गाउँपालिका ४ खजूरीकी सूर्यकला देवी कामती रेल नचल्दा निराश छिन । ‘विवाहपञ्चमी मेलामा नै जयनगरबाट जनकपुर सम्म रेल चल्छ भनेर भनियो तर चलेन । रेल त आयो तर एक दिनपनि चलेन, अहिले थन्काएर राखिएको छ । कहिले चल्छ ठेगाानै छैन, रेल आउँने र चल्ने कुरा त फगत अब गफमा मात्र सिमित भयो’ उनले भनिन ।
गत असोज ३ मा निक्कै धुमधाम र उत्साहका साथ रेल भित्रायो । धेरै समयको प्रयासपछि नेपाल सरकारको स्वामित्व भएको रेल तामझामका साथ भित्राए । भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेशन सम्म पुर्याईयो । पहिलो पटक रेल चल्ने कुराले जनकपुरबासीमा खुशीको सिमा थिएन् । धेरैलाई लागेको थियो, अब रेल चल्छ । रेल आएपछि चल्ने सुनिश्चितता गरेका सर्वसाधारणले सरकारको प्रशंसा गरे । तर रेल चल्न नसकेपछि यहाँको सर्वसाधारण देखि व्यापारी सम्म निराश छन् । निक्कै उत्साह र धुमधामका साथ हर्न बजाएर भित्राईएको रेल झण्डै १५ महिना देखि पालमुनी थन्किएपछि स्थानीयहरु निराश भएको हो ।
रेल त आयो तर रेल चलाउने आवश्यक भौतिक पूर्वाधार, कर्मचारीको अभावमा धनुषाको ईनर्वा स्टेशनको पालमूनी रेल थन्किएको छ । रेल भित्राउने समयमा एक महिनामात्र कर्मचारी भर्ना गरेर चलाउने भनिएपनि कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा रेल सञ्चालन अनिश्चित बनेको रेल्वेका साईट ईन्जिनियर विनोद ओझाले बताए ।
रेल्वेका महाप्रबन्धन निरञ्जन झाले झाले १ हजार २ सय ५४ करोड रुपैयाँको लागतमा निर्माण गरिने भनिएको जयनगर-बर्दिबास सडक खण्डमध्ये ६२३ करोड लागतमा निर्माण गरिएको जयनगर-कुर्था रेलमार्ग भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए । उनले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भएपनि कर्मचारी व्यवस्थापन, कानुन अभाव, भाडादर निर्धारण, चोरिएको क्लिप, झयाल ढोका तथा अन्य संरचनामा तथा रेल सञ्चालन रोकिएका गर्ने काम बाँकी रहेकोले सबै प्रक्रियाहरु चाँडै पूरा हुने दाबी गरे ।
महाप्रवन्धक झाले भने, ‘हामीले भारतीय कम्पनी केआरसिएललाई इनर्वामा विगत ८ महिनादेखि थन्काएर राखिएको रेलसेटको प्राविधिक जाँचका लागि पत्राचार गरिसकेका छौं । केआरसिएलले प्राविधिक रिपोर्ट तयार पारेर हामीलाई जिम्मा लगाएपछि मात्रै रेल गुडाउने मिति सम्बन्धमा औपचारिक जानकारी दिन सक्छौं । अब धेरै समय नलाग्नुपर्ने हो, सक्दो चाँडो सञ्चालनको तयारी छ, आवश्यक सबै प्रक्रिया पश्चात यसैवर्ष चलाउँछौं ।’
रेल चालाउने कानूनी बाटो खुल्यो
जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधबार रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालनका निमित्त कानूनी बाटो खुलेको हो । सरकारले खरिद गरेको रेल सेट थन्किएको महिनौंपछि पनि रेल गुडाउने सम्बन्धमा मन्त्री रेणु यादवले भनिन, ‘रेल सञ्चालनको मुख्य अवरोधक कानूनी बाटो खुलेको छ ।’
जनकपुरधाम स्थित रेल्वे ट्रयाक निरीक्षणका लागि पुगेकी मन्त्री यादवलाई सञ्चारकर्मीहरुले रेल कहिले गुड्छ ? सोधिएको प्रश्नमा मन्त्री यादवले भनिन, ‘रेल यही मितिमा गुड्छ ठ्याक्कै भन्न सकिन्न, म जनतालाई ढाट्न चाहन्न, यद्यपि यही वर्षभित्रै नेपालीहरुले आफ्नै भूमिमा रेल चढ्न पाउनेछन् ।’ मन्त्री यादवले रेल गुडाउने सम्पूणर् तयारी पूरा गरे यही वर्ष दुई देशको प्रधानमन्त्रीबाट यसको उद्दघाटन गराइने जानकारी दिइन् । उनले भनिन्, ‘रेल गुडाउने गृहकार्यमा हामी लागिसकेका छौँ, तयारी पूरा भए लगत्तै दुई देशको प्रधानमन्त्रीबाट उद्दघाटन भर्चुअल भएपनि उदघाटन गराउन हामीले खोजेका हौं ।’
मंगलबार जयनगर-जनकपुरधाम रेल्वेको ट्रयाक निरीक्षण गर्दै मन्त्री यादवले ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको र कर्मचारीको व्यवस्था गर्न लागेको समेत बताइन् । उनले भारतीय सीमा जयनगरदेखि जनकपुर कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूणर् प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिइन् । साथै उनले रेल लिक महोत्तरीको बर्दिवास सम्म जोड्ने र पूर्व-पश्चिम विद्युतीय रेलमार्गका लागि त्यहाँ रेल्वे सवस्टेशन निर्माण गर्ने लक्ष्य रहेको बताइन् ।
नेपाल-भारत सरकारको संयुक्त लगानीमा जयनगर-जनकपुर देखि कुर्था सम्म रेल्वेको ब्रोडगेज लिंक, स्टेशन निर्माण, सकेको दुईवर्ष भन्दा बढी भयो । नेपाल सरकारले आफ्नै लगानीमा रेलसेट पनि खरिद गर्यो । तर व्यवस्थापकीय कमजोरीका कारण रेल सञ्चालन हुन नसकेको रेल्वेका निवर्तमान महानिर्देशक बलराम मिश्रले बताए । यता रेल विभागका निवर्तमान महानिर्देशक बलराम मिश्रले तत्काल रेल सञ्चालनको कुनै सम्भावना नरहेको बताए । उनले प्रश्न गर्दै भने, ‘रेल चलाउन मेनपावर छैन, चलाउन प्राविधिक छैन, रेल मुखले भनेर चल्दैन् । ‘रेल चलाउने भनेको हो, तर सबै कुरा भनेजस्तो हातमा हुँदैन, सबैकुरा मिलाउन समय लाग्छ, ? अहिलेलाई रेल चलाउने कुरा रेल्वे कम्पनिसंग सोधनुस्’ उनले भने ।
सक्दो छिटो रेल चलाउने हाम्रो प्रयास हो, तर मुख्यतः कामहरु बाँकी नै छ, रेल कम्पनी र रेल विभाग बीच समन्वयन भईरहेको बताउँदै महानिर्देशक बज्रचार्यले प्राविधिकको समस्या र कर्मचारी अभावले रेल सञ्चालनको मिति तोक्न नसकिएको बताए ।
नेपाल सरकारले आफ्नै लगानीको ८५ करोडमा रेलसेट पनि खरिद गरेको छ । रेल्वेका पुराना तथा नयाँ संरचनाको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिईएको छ । नेपाल रेल्वे कम्पनीले स्टेशन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखा लगायतका २९ वटा पदमा १ सय २९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त आह्वान गरिएको अन्तिम दिनसम्म ३२ हजार ६ सय ८६ जनाले आवेदन दिएका थिए । तर उनीहरुको थप प्रक्रिया अगाडी बढाईएको छैन् ।