जनकपुरधाम : जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा दलित समुदायको लागि आरक्षित निर्वाचन क्षेत्रको प्रावधान राख्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

जनकपुरधाममा शनिबार जसपाको भातृ संगठन समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय भेलामा उनले दलित समुदायको उत्थान र राज्यको हरेक निकायमा दलित समुदायको पहँुचका लागि आरक्षित क्षेत्र निर्धारण हुनु पर्ने बताए ।

निर्वाचन दिनप्रतिदिन महँगो हुंदै आएको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ निर्वाचन महँगो हुंदै गएको छ, दलितहरुको आर्थिक अवस्था कमजोर छ, यस्तोमा प्रदेश २ मा एउटा पनि दलित समुदाय चुनाव जित्न सक्दैनन् । तसर्थ उनीहरुको लागि निर्वाचन क्षेत्र आरक्षित गर्नु पर्छ ।’ विभेद र अससमानता हटाउन मधेश आन्दोलन भएको स्मरण गर्दै अध्यक्ष यादवले भने,‘ दलित समुदायसंग अहिले पनि विभेद यथावत् छ, उनीहरु न्यायबाट वञ्चित छन् । त्यसकारण उनीहरुको राजनीतिक पहुंच आवश्यक छ ।’दलित समुदायमै सबभन्दा बढी महिला हिंसा हुने गरेको छ, अध्यक्ष यादवले भने,‘ ती समुदाय अझै पनि असुरक्षित र आफूलाई निरिह पाउंछन् ।

उनीहरुको शिक्षा ,सुरक्षाको जिम्मेवारी राज्यको हो ।’अध्यक्ष यादवले दलितहरुलाई संगठित भएर आफ्नो हक अधिकारको लागि अगाडि बढ्न आग्रह समेत गरे । एक अर्को प्रसंगमा बोल्दै उनले वर्ण र वर्ग व्यवस्था बीच समाजवादको स्थापना असम्भव रहेको बताए । अध्यक्ष यादवले मुलुकलाई समाजवादको दिशामा अग्रसर हुन वर्ण र वर्ग व्यवस्था नै मुख्य अवरोधकको रुपमा अगाडि देखापरेको स्पष्ट गरे ।

वर्ण र वर्ग व्यवस्थाले जन्माएको असमानता र विभेदबाट विश्वका २६ करोड दलितहरु शोषित र पीडित भएको उल्लेख गर्दै उनले मुलुकमा समाजवाद स्थापनाको उक्त व्यवस्था परिवर्तन आजको प्रमुख आवश्यकता रहेको बताए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लाल बाबु राउतले दलित समुदाय हरेक किसिमबाट समाजमा उत्पीडनमा परेको प्रसंग उल्लेख गरे । दलित समुदायमा एकता र शिक्षाको अभाव रहेको बताउंदै मुख्यमन्त्री राउतले भने,‘ दलितको उत्थान र सशक्तिकरणको लागि प्रदेश सरकारले दलित सशक्तिकरण ऐन ल्याएको छ, त्यसले दलित समुदायको समृद्धिमा ठूलो योगदान पु¥याउने मेरो विश्वास छ ।

’ प्रदेश सरकारले हरेक निकायमा समावेशी समानुपातिक हिसाबले सबै वर्ग, समुदाय, धर्मका व्यक्तिलाई त्यसको जनसंख्याको हिसाबले प्रतिनिधित्व हुने गरी समावेशी कानून ल्याएको मख्यमन्त्री राउतले दाबी गरे । प्रदेश २ का हरेक स्थानीय तहदेखि प्रदेश सरकारको हरेक निकायमा जनसंख्याको आधारमा त्यसको प्रतिनिधित्व हुने गरी प्रदेश सरकाले ऐन ल्याएको मुख्यमन्त्री राउतले बताए ।

समाजवादी दलित मुक्ति संगठनका अध्यक्ष खिम बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवं जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साह, नेपाली काँग्रेस निकट दलित संगठनका रामवरण पासवान, नेकपा एस निकट दलित संगठनका राम अवतार पासवान सहितका वक्ताहरुले आ– आफ्नो धारणा राखेका थिए ।


२०७८ पुष १८, आईतवार ०६:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय