goli_hanahan_nepalvani_dhanusha

जनकपुरधाम : सीके राउत नेतृत्वको जनमत पार्टीले जारी राखेको आन्दोलनका क्रममा धनुषाको पोर्ताहामा गोली चलेको छ ।

गोली प्रहारबाट पाँच प्रदर्शनकारी घाइते भएका छन् । घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन् । उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहको छ । २ जनाको गम्भीर र ३ जनाको अवस्था सामान्य रहेको बुझिएको छ ।

किसानमुखी विभिन्न सात मागसहित अनिश्चतकालीन यातायात बन्दमा उत्रिएको जनमत पार्टी तोडफोडमा उत्रिएपछि गोली चलाइएको प्रहरीले जनाएको छ ।

अवस्था नियन्त्रण बाहिर जान खोजेपछि २५ शेल आँश्रुग्यास र प्लाष्टिकका गोली चलाइएको जनाइएको छ ।

राजमार्ग अवरुद्ध गरेकाले गो’ली चलाउनु परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए । उनले भने- राजमार्ग अवरुद्ध गर्न पाइदैन । उनीहरु राजमार्ग अवरुद्ध गरेर उदण्डता प्रदर्शन गरेकाले प्रहरी रबरको गो’ली चलाउन बाध्य भयो । उनका अनुसार ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो ।

आन्दोलनकारीहरुले भने प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन् । आन्दोलनकारी सञ्जय कुमार साहले प्रहरी निरीक्षकको नेतृत्वमा गोली प्रहार गरिएको आरोप लगाए ।

सिरहाको औरही गाउँपालिकामा किसानहरूका लागि गहुँको बिउ स्थानीय किसानलाई वितरण नगरेको र किसानहरूले जबर्जस्ती आफैँ लगेपछि प्रहरीले चार जना किसानलाई पक्राउ गरेको विरोधमा पुष ९ गतेदेखि जनमत पार्टी आन्दोलनमा छ ।

सो घटनापछि गाउँपालिकामा तालाबन्दीमा उत्रिएको जनमत पार्टीले किसानलाई सहुलियत दिने गरीको पूर्वाधार बनाउनेदेखि मलखाद उपलब्ध गराउनु पर्नेसम्मका सात बुँदे माग राखेको छ ।

२०७८ पुष १८, आईतवार १५:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय