
एजेन्सी : भारतको दोस्रो ठूलो फिल्म उद्योग मानिने साउथ फिल्म पछिल्लो समय बलिउड फिल्मका लागि चुनौती बनेको छ । प्राविधिक रुपमा बलिउड फिल्मभन्दा साउथ फिल्म अब्बल बन्न थालेका छन् भने बजेट र कमाईको मामलामा पनि बलिउड फिल्मभन्दा अगाडि देखिएको छ । बलिउड फिल्मको दबदबा मानिने भारतको कयौं राज्यमा यतिबेला साउथ फिल्मले किल्ला गाँडेको छ ।
‘बाहुबली, केजिएफ, २.०’ लगायतका फिल्मले भारतमा बलिउडको एकछत्र राज तोडे । डिसेम्बर १७ बाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा’ को हिन्दी डबले भारतीय बक्सअफिसमा गरेको कमाई हेर्दा अब बलिउड फिल्मका लागि हलिउडभन्दा ठूलो चुनौती साउथ फिल्म बनेको देखिन्छ । कोरोनापछि प्रदर्शन भएका बलिउड फिल्मभन्दा राम्रो कमाई यो फिल्मले गरिरहेको छ ।
संसारभर तीन सय करोड कमाइसकेको ‘पुष्पा’ ले हिन्दी भर्सनमा मात्रै ६० करोडको आँकडा नघाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शकले सामाजिक सञ्जालमा फिल्मको १७ दिने कमाई ६२ करोड ९४ लाख रहेको जानकारी दिएका छन् । फिल्मले पहिलो र दोस्रो हप्ताभन्दा तेस्रो हप्ताको विकेन्डमा ठूलो कमाई गरेको छ । शनिवार र आइतवार मात्र फिल्मको कमाई १२ करोडमाथि छ ।
हिन्दी भर्सनमा ६२ करोडको कमाईसँगै ‘पुष्पा’ ले फिल्म ‘केजिएफ’ लाई समेत पछाडि छाडेको छ । त्यस्तै, ‘बाहुबली २’, ‘२.०’ र ‘बाहुबली’ पछि हिन्दी भर्सनमा सबैभन्दा बढी कमाई गर्ने चौथो फिल्म बनेको छ । फिल्मले हिन्दी भर्सनमै सय करोडको आँकडा पार गर्ने ट्रेन्ड एनालिस्टको अनुमान छ । सुकुमार निर्देशित यस फिल्ममा अल्लू अर्जुन र रश्मिका मन्दाना मुख्य भूमिकामा छन् ।