जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी र नामका लागि विशेष समितिमा सोमवार भएको छलफलमा राजधानीका लागि दुईवटा प्रस्ताव पेश हुनेमा सहमति भएको छ ।

प्रदेश सभामा रहेका पाँचवटा दलले छुट्टा छुट्टै वरिपरिको भूभाग सहित जनकपुरधामलाई राजधानी प्रस्ताव गरेका छन् । दुई जना फरक दलका सभासदहरुले छुट्टा छुट्टै ढंगले वीरगञ्जलाई राजधानीका लागि प्रस्ताव गरेका हुन् ।

बैठकमा पाँचवटा दलले प्रस्तुत गरेका प्रस्तावको अन्तरवस्तु एउटै भएकाले सबै दलको तर्फबाट जनकपुरधामलाई केन्द्र मानेर वरिपरिको भूभागलाई राजधानी तोक्नेमा सहमति जुटेको समितिका संयोजक समेत रहेका प्रदेश सभामुख सरोज कुमार यादवले जनाए । ‘जनकपुरधामलाई राजधानी बनाउन दर्ता भएका पाँचवटा प्रस्तावलाई एउटैगरी छलफल गराइनेमा सहमति जुटेको छ’ सभामुख यादवले भने, वीरगञ्जलाई राजधानी प्रस्ताव गरेका दुई जना सभासद बीच सहमति भने जुट्न सकेको छैन् ।

प्रदेशको राजधानी तोक्न बसेको बैठकमा भएको सहमति अनुसार दक्षिणमा नेपालको सीमाना धनुषा र महोत्तरी, पश्चिममा बृहत् परिक्रमाको भू– भाग, उत्तरमा ढल्केवर र पूर्वमा लोकमार्ग कमला नदीलाई सीमा तोकिएको छ ।

नेपाली कांग्रेसले जनकपुरधामलाई मात्र राजधानीको रुपमा प्रस्ताव गरेको थियो । अन्य दलहरुले दर्ता गराएको प्रस्तावमा सहमति कायम भएपछि कांग्रेसले पनि सहमति जनाएको हो । नेपाली कांग्रेसका राजेश्वर प्रसाद साह र जनता समाजवादी पार्टी (जसपा)का सिगांसन साह कलवारले वीरगञ्जलाई प्रस्ताव गरेका छन् ।

समितिमा दुबै जनालाई एउटै प्रस्तावमा सहमति गर्न दवाब दिए पनि उनीहरु तयार नभएपछि प्रस्ताव छुट्टा छुट्टै दर्ता कायम रहने भएको छ । ‘प्रदेशको राजधानीका लागि जनकपुरधामको दर्ता पहिले भएकाले छलफल र निर्णयका लागि सोही प्रस्ताव पेश हुनेछ’ सभामुख यादवले भने, पहिलो प्रस्ताव पारित भएपछि अर्को प्रस्ताव छलफल र निर्णयका लागि प्रस्तुत नहुने सहमति बनेको छ ।

यस अघि २०७६ साल चैत ४ गते प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव पेश हुँदा दुई तिहाई बहुमत पुग्न नसकेर दुबै प्रस्ताव असफल भएको थियो । तत्कालीन समयमा प्रदेश सभामा नामको प्रस्ताव निर्णयका लागि पहिले प्रस्तुत गरिएको थियो । सो प्रस्ताव असफल भएपछि राजधानीको प्रस्ताव सहमति विपरित विफल बनाइएको थियो ।

पाँच दलबीच भएको सहमति अनुसार प्रदेशको राजधानी जनकपुरधाम पारित हुने निश्चित भएको छ । नामको विषयमा विशेष समितिमा मंगलवार छलफल हुने छ । नामका लागि प्रमुख रुपमा सत्ता पक्ष जसपा र विपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), सत्तासीन नेकपा माओवादी केन्द्रले ‘मधेश प्रदेश’ मा सहमत छन् ।

सत्तासाझेदार कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) ले ‘मधेश प्रदेश’ मा सहमत हुन सकेको छैन् । कांग्रेसले मिथिला–भोजपुरा र एसले जानकी प्रदेश प्रस्ताव गरेको छ । कांग्रेसको प्रस्तावलाई कुनै दलले समर्थन नगरे पनि एसको प्रस्तावलाई उसको कडा आलोचक नेकपा एमालेले भने समर्थन गरेको छ । जसपा, लोसपा र माओवादी केन्द्रको समर्थनले प्रदेश सभामा ‘मधेश प्रदेश’ को पक्षमा ६३ जना सभासद छन् । कांग्रेसका १९ जना सभासद रहेका छन् । ‘मिथिला–भोजपुरा’ प्रस्ताव स्वतः असफल हुनेछ ।

एसले जानकी नाम प्रस्ताव गरेको पक्षमा भने २१ जना सभासद रहेका छन् । जानकी प्रदेशलाई एसका १३ जना र एमालेका ८ जनाले समर्थन गरेका छन् । प्रदेश सभामा कुल १ सय ४ जना रहेकोमा एकजना सभामुख छन् । कांग्रेसले प्रस्ताव गरेको मिथिला– भोजपुराको भन्दा कांग्रेसकै राजेश्वर प्रसाद साहले दर्ता गरेको ‘मध्य मधेश प्रदेश’ प्रस्ताव पारित हुने संभावना बलियो देखिएको छ ।

भारतको बिहारमा ‘मिथिला’ राज्यको लागि चलेको अभियानको नक्सामा भारतका जिल्लाहरु सँगै प्रदेश २ का जिल्लाहरुलाई समेत समेटेको छ । त्यसलाई मिथिला राज्यको पक्षमा रहेका केही अभियानीहरुले समेत समर्थन जनाएको आरोप लागेको छ । ‘मधेश प्रदेश’ ले मधेश आन्दोलन र मधेशीको पहिचान स्थापित गर्ने भएकाले त्यसमा सभासदहरुले जोड दिएका छन् । मिथिलाको पक्षमा कांग्रेसकै कयौं सभासद रहेका छैनन् ।

कतिपयले विमलेन्द्र निधिको हठको कारण कांग्रेस ‘मिथिला–भोजपुरा’ को राग अलापि रहेको आरोप पनि लगाउन थालेका छन् । प्रदेशको नामकरणका लागि मुख्यमन्त्री लालबाबु राउत नै उदासीन रहेका छन् । उनले नाममा सहमति जुटाउन सार्थक प्रयास नगरेको आरोप छ ।


२०७८ पुष २०, मंगलवार ०९:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय