जनकपुरधाम : प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । यस प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि आज जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा छ जनाको उम्मेदवारी परेको हो ।

उम्मेदवारी दिनेमा पाँच दलीय सत्ताधारी गठबन्धनबाट सिरहाका खालिद सिद्धिकी र पर्साकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ । खालिद जनता समाजवादी पार्टी (जसपा) नेपाल र अर्याल माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएको हो । सत्तारूढ दलले गठबन्धन बनाए पनि प्रमुख प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् ।

लोसापाबाट सप्तरीका श्यामसुन्दर सरदार र महोत्तरीकी रूपा यादवले उमेदवारी दर्ता गराउनुभएको हो । सरदार प्रदेश सरकारले गठन गरेको दलित विकास समितिको सदस्य समेत हुनुहुन्छ ।

यसैगरी एमालेबाट रौतहटकी विना साह र पर्साका उसमान अन्सारीले उमेदवारी दिनुभएको छ । एमाले केन्द्रीय कार्यालयले धनुषाका असर्फी भिनवारको नाम सार्वजनिक गरे पनि अन्तिम समयमा उहाँको ठाउँमा उसमानलाई उम्मेदवार बनाइएको हो । सत्तारूढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो ।

प्रदेशसभामा सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सदस्य छन् । यस्तै नेपाली कांग्रेसको १९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ र नेकपा एकीकृत समाजवादीका १३ सदस्य रहेका छन् । यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका आठ÷आठ सदस्य तथा नेपाल सङ्घीय समाजवादी पार्टीका एक जना सदस्य छन् ।


२०७८ पुष २०, मंगलवार १९:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय