
महोत्तरी : दलभित्र लोकतान्त्रिक विधि पालनाको माग राख्दै नेपाली काँग्रेस महोत्तरी कार्यालयमा आमरण अनशन सुरु भएको छ । दलका पूर्व महासमिति सदस्य तथा जिल्ला सचिव बजरङ्ग नेपालीले आज बुधबार पार्टी कार्यालयमा आमरण अनशन प्रारम्भ गर्नु भएको हो ।
जिल्लामा दलको १४ औं महाधिवेशनकोे क्रममा महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर-३ को क्षेत्रीय अधिवेशन सम्पन्न नगरिदै जिल्ला अधिवेशनको तयारी थालिएपछि अनशन बस्नु परेको नेपालीको भनाइ छ । “दलको क्षेत्रीय अधिवेशन सम्पन्न नगरी जिल्ला अधिवेशनको तयारी बढाइएको छ” दलको कार्यालय स्वर्गीय महेश्वरप्रसाद सिंह स्मृति भवनमा अनशन थाल्नु भएका नेपालीले भन्नुभयो, “यसले क्षेत्र नम्बर-३ का कार्यकर्ताको जिल्ला अधिवेशनमा सहभागिताको अधिकार कुण्ठित भयो, मैले यो अधिकार सुरक्षित राख्न अनशन थालेको हुँ ।” पहिले क्षेत्रीय अधिवेशन सम्पन्न गरेर जिल्ला अधिवेशनमा जान पर्ने नेपालीको माग छ ।
चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका अन्य तीनवटा क्षेत्रको अधिवेशन सम्पन्न भई सकेको छ । अब क्षेत्र नम्बर-३ को अधिवेशन पहिले आयोजना गरेर जिल्ला अधिवेशनमा जान पर्ने नेपालीको मागमा समर्थन जनाउन पार्टीका कार्यकर्ता कार्यालय पुग्ने क्रम बाक्लिएको छ । यता दलको केन्द्रीय कार्यालयले जिल्ला अधिवेशन यही पुस २७ गते सम्पन्न गर्न निर्देशन जारी गरेको थियो । यद्यपि काँग्रेस केन्द्रीय कार्यालयले आज नयाँ सूचना जारी गर्दै जिल्ला अधिवेशन माघ १५ मा सम्पन्न गर्न निर्देशन गरेको छ ।
“अब क्षेत्रीय अधिवेशन गर्न प्रसस्त समय भयो”अनशनस्थल पुग्नु भएका महोत्तरी काँग्रेसका पुराना नेता भोला तिवारीले भन्नुभयो,“माघ १५ यता क्षेत्रीय अधिवेशन सम्पन्न गर्न दल अघि बढ्न पर्छ ।”
यसैबीच नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका सम्पन्न हुन बाँकी अधिवेशन विधिसम्मत तरिकाले सम्पन्न गरिने बताउनु भएको छ । महोत्तरीको सन्दर्भमा पनि निर्वाचन समिति, पार्टीको प्रदेश कार्यसमिति र स्थानीय (महोत्तरी) नेता कार्यकर्ताको समन्वयमा अधिवेशन सम्पन्न गरिने शर्माले टेलिफोन कुराकानीमा बताउनुभयो ।
अनशन बस्नु भएका नेपालीले जिल्ला अधिवेशनअघि क्षेत्रीय अधिवेशनको सुनिश्चितता पार्टी केन्द्रीय कार्यालयले दिएपछि अनशन स्वतः अन्त्य हुने बताउनु भएको छ । महोत्तरीमा अहिले क्षेत्र नम्बर-३ को अधिवेशन तत्काल तोक्न अनशनस्थल पुगेका नेता कार्यकर्ताले दवाव बढाएका छन् ।