railway_jaynagar_janakpur_relway_rail_nepalvani

काठमाडौं : सरकारले जनकपुर-जयनगर रुटमा चलाउन भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको झण्डै १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ ।

सरकारले गएको वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेको दुई वटा रेल गएको वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ । लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको भन्दै तीव्र आलोचना भइरहे पनि सरकार भने रेल खरिद गरेको झन्डै १५ महिनामा बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूणर् तयारी भइसकेको बताउँदै प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्रीबीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ । यद्यपि प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति र कार्यक्रम भने सार्वजनिक भइसकेको छैन ।

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ई. रवीन्द्रनाथ श्रेष्ठले पनि जनकपुर-जयनगर रुटमा रेल सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिँदै भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताए । उनले रेल सञ्चालनका लागि अहिले दैनिक रूपमा ट्र्याक परीक्षण भइरहेको पनि बताए ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्रेष्ठले केही नदीमा आन्तरिक जल मार्ग विकासका लागि काम भएरहेको पनि जानकारी दिए । उनले चालु आर्थिक वर्षभित्रै कर्णाली, कालीगण्डकी, कोसी, नारायणी र त्रिशूली नदीमा जल मार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी यात्रा गर्नका लागि प्रयास गरिरहेको बताए ।

उनले जल यातायात नियमन गर्न ऐन, कानुन अगाडि बढाएको पनि बताए । सचिव श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको सदस्य राष्ट्र भएको बताउँदै त्यसका सन्धिहरूको अध्ययन गर्न मन्त्रालयले समिति गठन गरेको पनि जानकारी दिए ।


२०७८ पुष २४, शनिबार ०८:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय