
मटिहानी (महोत्तरी) । सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा आज सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ । मटिहानी-२ र ६ जोड्ने जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो । पुल बनेपछि आवागमन सहज भएको बताउँदै मटिहानीबासी दङ्ग छन् ।
“मधेसमा झोलुङ्गे पुल त्यति बन्दैनन् नि ! त्यसैले नौलो लागेर पनि हेर्न आउने बढेका हुन्” नगरपालिकाका उपप्रमुख शिवोदेवी साह भन्नुहुन्छ, “थपमा हिंडडुल सहजताको खुशी पनि सर्वसाधारणमा देखिएको हो ।” आज पुल सञ्चालनपूर्व आयोजित उद्घाटन समारोहमा चिसो मौसममा पनि सर्वसाधारण निकै जुटेका थिए ।
मटिहानी नगरपालिकाको मुख्य बजार मटिहानीबाट धिरापुर आउन/जान भइरहेको कठिनाइलाई नवनिर्मित पुलले चिरेको छ । नदी वारी मुख्य तरकारीबालीको पकेटक्षेत्र मानिने मटिहानीको धिरापुरबाट अब उत्पादित फसल बजार पुर्याउन सहज भएको किसान बताउँछन् । खासमा मटिहानी बस्तीतिरका थुप्रै किसानको जग्गा बिग्ही पारी धिरापुरतर्फ हुँदा पुल नभएर खेतीपाती हेर्न नै असुविधा खेप्दै आएका किसानले अब राहत महसुस गरेका छन् ।
“यो झोलुङ्गे पुल नयाँ कुरा लागेरमात्र हेर्ने भिड देखिएको हैन हजुर..!” मटिहानी-६ मटिहानी बस्तीका किसान नूर मोहम्मद राइन भन्नुहुन्छ, “घर-खेत आउन जान एबम् फसल र बजार जोड्न पुलले ठूलो काम गर्यो , हामी सबै यो खुशी साट्न पुल सञ्चालन भएको हेर्न आएका हौं ।” आज सोमबार दिउँसो नगरप्रमुख हरिप्रसाद मण्डलले झोलुङ्गे पुल उद्घाटको क्रममा रिबन काट्दै गर्दा सर्वसाधारणले जयजयकारको नारा लगाएका राइनले बताउनुभयो ।
नेपाल सरकारको सशर्त अनुदान र मटिहानी नगरपालिकाको गरी ५२ लाखको लागतमा झोलुङ्गे पुल तयार भएको हो । यो पुल ३२ मीटर लम्बाइ र एक दशमलव पाँच (१.५) मीटर चौडाइको रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिनुभयो ।
झोलुङ्गे पुलमा हिड्दा लच्कने भएको हुँदा किशोरवय र सो उमेरमा टेक्दै गरेका बालबालिकालाई थप रमाइलो बनेको शर्माको भनाइ छ ।