जनकपुरधाम : मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिएको छ ।

नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो ।

मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिएको बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ छ ।

प्रदेश सभामा सोमबारै भएको मतदानले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुधरामको पक्षमा ७८ जना सांसदले मतदान गरेका छन् ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा प्रदेशको नाम मधेस प्रस्ताव गरेका थिए । यसको प्रस्तावक थिए, शैलेन्द्रकुमार यादव र भरतप्रसाद साह ।

जसपाका ३९, माओवादी केन्द्रका ८ र लोसपाका १६ गरी ६३ जना सांसद मधेस प्रदेशको पक्षमा थिए । १ जना सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसैमा समर्थन जनाएको थियो ।

प्रदेशको नामकरण र राजधानीका लागि सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्ष निकालिएको थियो । विशेष समितिले ६ बुँदे निष्कर्षसहित आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेस गरेको थियो ।

समितिले राजधानीका लागि ३ र नामकरणका लागि ४ वटा प्रस्ताव राखेर बाँकी प्रस्ताव खारेज गरेको थियो ।

१९ जना सांसद रहेको कांग्रेसले ‘मिथिला भोजपुरा’, १३ जना सांसद रहेको नेकपा एकीकृत समाजवादी र ८ जना सांसद रहेको नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेस’ नाम प्रस्ताव गरेका थिए ।

२०७८ माघ ४, मंगलवार ०६:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय