
अनिल साह,
यदुकूहा, धनुषा : ‘मेरो शरीर मेरो अधिकार–स्वस्थ्य समृद्ध एवं सुन्दर समाज’ मूल नाराका साथ हेल्पिङ्ग ह्याण्डस् नेपाल गौशाला महोत्तरीको आयोजना तथा शहिदनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय स्वास्थ्य सरसफाई तथा सेनेटरी प्याड अभिमुखीकरण सम्पन्न भएको छ ।
शहिदनगरमा महिला तथा युवतीहरुलाई लक्षित गरेर प्रजनन् स्वास्थ्य तथा सेनेटरी प्याड अभिमुखीकरण तालिममा महिनावारीको समयमा अति आवश्यक सेनेटरी प्याड प्रयोग गर्ने तथा प्रयोगका बिभिन्न विधिहरुबारे बताउन शहिदनगरका प्रायः सबै वडाकै महिला तथा युवायुवतीहरु सहभागी रहेको कार्यक्रम सम्पन्न भएको हो ।
घरायसी फोहर कपडाको प्रयोग गर्दा निम्तिन सक्ने स्वास्थ्य समस्या र बजारी प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि शहिदनगरमा अभिमुखीकरण सञ्चालन गरिएको कार्यक्रम संयोजक मणिभुषण कुमार कर्णले जानकारी दिए । उनले भने, ‘घरमै प्याड बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड तथा बजारमा पाईने प्याडको प्रयोग बारेमा तालिममा विस्तृत बुझाउने प्रयास गरिएको छ ।’ प्याड अभावमा छात्रा तथा महिलाहरुले असुरक्षित रुपमा अन्य सामग्रीको प्रयोग रोक्न तथा प्रजनन स्वास्थ्य बारे ज्ञानको अभिबृद्धि गराउन तालिमको आयोजना गरिएको कर्णको भनाई छ ।
‘आफ्नै गाउँ घर वा स्कुल कलेजमै पनि सेनेटरी प्याड बनाउन सकिने र प्याड बारे जनचेतना अभिबृद्धि गर्ने उदेश्यका साथ कार्यक्रमको थालनी गरिएको सहजकर्ता श्रुची साहले जानकारी दिए । उनले भने, ‘आफ्नो घर छिमेक तथा अन्य आफन्त तथा परिवारका अन्य सदस्यहरुलाई समेत सचेत गराउन तालिम महत्वपूर्ण भुमिका खेल्छ । गाउँको पसलमा प्याड किन्न जान गाह्रो मान्ने तथा प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न हिच्किचाहट हुनेहुँदा छात्रालाई प्रजनन स्वास्थ्यको ज्ञान सीप सिकाएर प्याडको प्रयोगबारे जानकारी दिने उदेश्यका साथ तालिम सञ्चालन गरिएको हो ।’
अर्का प्रशिक्षण रुही कुमार चौधरी र मोनिक चौधरीले पुरानो शैलीमा अहिलेपनि कतिपय गाउँघरमा प्रजनन् स्वास्थ्य समस्या विकराल रहेको र यसको प्रमुख कारण ज्ञान र चेतनाको अभाव रहेकोले त्यसलाई हटाउनुपर्नेमा जोड दिए ।
‘ विद्यालय जाने विद्यार्थी तथा गाउँघरमा चेतनाको कमी भएका किशोरी तथा महिलाको बौद्धिक विकास गर्नुको साथै सबल बनाउन लागि तालिम आयोजना गरिएको हो’ चौधरीले भने ।
सरोज कुमार महतोको उदघोषण तथा सहजीकरणमा भएको कार्यक्रममा सहभागिलाई उनले सिप सिकेर व्यवहारमा परिवर्तन गर्न तथा आफ्नो घर–परिवार तथा छरमिमेकमा समेत प्रजनन् स्वास्थ्य र प्याड बारे जनचेतना जगाउन आग्रह गरे । उनले तालिममा सिकेका क्षमतालाई बाहिर प्रदर्शन गरेर सिपलाई व्यवसायिकतामा बदल्न आवश्यक रहेको बताए ।