
गोबिन्द महतो,
जनकपुरधाम : ‘एक युगमा एक दिन एक चोटी आउँछ, उलटपुलट-उथलपुथल, भत्ताभुङ्ग हेरफेर गरेर ल्याउँछ’ यी हरफले पटक-पटक भएको मधेश आन्दोलन र त्यसयताका उपलब्धि संगालेर हेर्दा अपवाद बनेर आउँछ । समय दिनदिनै बितिरहेको छ, तर ती उथलपुथलमा ज्यानको आहुति दिएर बलिदानी दिएका शहिदहरुको सपना अझै पुरा हुन सकेको छैन् । नत शहिद परिवारले उचित सम्मान पाउन सकेको छ, न त संघीयता, समावेशी समानुपातिकको आभास नै पाएको पाईन्छ ।
मधेशमा आव्हान गरेरै दुई ठुला आन्दोलन भयो । ०६२/०६३ र ०७२/०७३ मा दुई पटक आन्दोलन भयो । पहिलो आन्दोलनमा सहभागि भएर अन्तरिम संविधान २०६३ मा समान सहभागिता, पहिचान, समानुपातिक, समावेशी र अर्को संविधानमा मधेशीका पहिचान र अधिकार प्राप्त नभएको भनी दुई छुट्टा-छुटै आन्दोलन भयो । आन्दोलनबाट मधेशले केही नपाएको पनि होईन् । केही उपलब्धि पाएको छ भने केही अझै बाँकी रहेको नेताहरु भन्छन् ।
आन्दोलनमा सबैभन्दा बढी उपलब्धि नेताहरुले पाए । चाहे त्यो स्थानीय तहको निर्वाचनमा होस् वा प्रदेश चाहे प्रतिनिधिसभाका निर्वाचनमा । मधेश आन्दोलनको जगमा पुगेका नेताहरु हिजोको दिनलाई भुलेको शहिद परिवारको आरोप छ । प्रत्यक्ष वा अप्रत्यक्ष आन्दोलनमा होमिएकाहरुलाई उपेक्षा गरिएको राजनीतिज्ञ विश्लेषक अन्नत अनुराग बताउँछन् ।
‘आन्दोलनताका समयमा शहिद भएकै दिन विशेष भाषण दिने तर सत्ता र भत्ताको मोहमा चुर नेताहरु आन्दोलनकारी बिर्सेका छन’ विश्लेषक मेहताले निर्वाचनको समयमा शहिदको नामबाट जनतासामु भावनात्मक रुपमा नेताहरु केही वर्षमै फेरिएको भनाई छ । ‘मधेशी पार्टीले त्यो दिन कसरी विर्सन सक्छ, अहिले त तीस दशक वा तीन दशक पनि भएन भर्खर तीन वर्ष अन्मा शहिदलाई बिर्सनु शहिद परिवारको अन्याय हो ।’
शहिद परिवारको गुनासो : नेताले सत्ता र भत्ता पाए हामीले कहिल्यै नबिर्सिने चोट
२०६३ मा सुरु भएको बिद्रोह संविधान जारी हुँदा सम्म तीन पटक मधेश आन्दोलित भयो । दर्जनौं मधेसी जनताले ज्यानको बाजी लगाए । सयौं आन्दोलनकारी घाइते भए, असक्त भए, सयौं माथि राजनीतिक मुद्दा दर्ता भए । सयौं नागरिकहरु अहिले पनि आन्दोलनकै कारण जेलमा छन् । यति महँगो मुल्य चुकाएर अहिले मधेशले प्रदेश २ मा सरकार निर्माण गर्यो । तर आन्दोलनमा शहादत दिएका शहिद परिवारको अवस्था जस्ताको त्यस्तै रहयो ।
शहिद परिवारले कसरी गुजारा चलाएका छन, बुवाआिमाको अवस्था कस्तो छ ? कसैलाई मतलव छैन, दोश्रो मधेश आन्दोलनका शहिद नितु यादवकी आमा राजकुमारी देवी यादवको गुनासो छ । ‘मधेश आन्दोलन तथा शहिदको बलिदानीको जगमा बनेको प्रदेश सरकारले नितुको आमा बुवालाई केही गरिदिएको छैन् । सरकारले शहिद परिवारलाई रोजगारीपत्र र घाईतेलाई आर्थिक सहायता दिएपनि मेरो परिवारले प्रदेश सरकारबाट सम्मानमा वर्षमा माला, टिका र एउटा गम्छा बाहेक केही छैन्’ उनले भनिन ।
धनुषाको जनकपुरधाम उप-महानगरपालिका १९ जमुनिया शहिद नितु यादवको घरमा उनकी आमा प्रायः बस्दिनन् । दिनभरी खेतमै बस्छिन् । घरमा बस्दा छोराको याद आउँछ, कहिले उसलाई सम्झाएको ती दिन गनेर भक्कानो भोडेर रुन्छिन त कहिले उनको सुत्ने कोठामा गएर रुन्छिन । शहिद नितुका भाई रप्पु यादव भन्छन, ‘मेरो भाई गुम्यो, आमा त्यही सम्झेर रुन्छिन, म सम्झाउँछु, कतिदिन कुरा बुझनुहुन्छ, कतिदिन त रुवेको रुवै बस्नुहुन्छ ।’
धनुषा लक्ष्मीनिया गाउँपालिका १ अरेरबा टोलका रामनरेश यादव छातीमा पत्थर राखेर छोराले मृत्युवरण गरेको आँखामा आँसु ओभाइसकेका छैनन् । पीडा उत्तिकै छ । त्यो पीडाको १४ वर्षीय छोरा दिलिपलाई सधैका लागि गुमाएको । मधेशको अधिकारका लागि गएका दिलिपलाई सदाका लागि संसारबाट बिदा भए । पाँच छोराछोरी मध्ये बुढेसकालको सहाराको एक्लो आशा थिए दिलिप बाबुका लागि तर आश पुरा नहुँदै निराश बनाएर गएँ । पछिल्लो मधेश आन्दोलनका क्रममा ५६ जनाले ज्यान गुमाएका थिए । ती मध्येका एक हुन् रामनरेशका छोरा दिलिप यादव । ०७२ भदौ २५ गते ‘चलु जनकपुर भरु जनकपुर’ आह्वानको क्रममा प्रहरीको गोली लागि शहादत दिएका थिए ।
‘२५ गते विहानै दिलिपसँग कुरा भएको थियो, उनलाई जनकपुर नजान सम्झाएँ, दिलिपले नजाने पनि भने, ‘आँखाबाट आँसु झार्दै रामनरेशले भने, ‘म साउदीमा हुँदा एकजना साथीले मलाई फोन गरेर दिलिप कहाँ छ ? भनेर सोधे घरमा फोन गरे रुवावासी चलिरहेको थियो । दिलिपलाई गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो, म आफूलाई सम्हाल्न सकिनँ, बेहोस भएँ ।’ त्यतिबेला सरकारले प्रत्येक सहिद परिवारलाई १०/१० लाख राहत उपलब्ध गराउने घोषणा गर्यो । र, दियो पनि । तर, छोरो नै गुमाइसकेपछि पैसाको के अर्थ’ उनी भन्छन् ।
प्रदेश सरकारले सहिद परिवारको अवस्था बुझने प्रयास गरेको छैन । भाषण गर्दा ठूलठूला आश्वासन दिने र शहिदलाई भोट ब्याङ्क बनाएर सत्तामा पुग्न सिढी बनाउने गरेको छ । रामनरेशले नियुक्ति पत्र देखाउँदै भने, ‘यी हेर्नुस नियुक्ति पत्र छ, तर काम छैन, पैसा पाएको छैन् ।’ अधिकार प्राप्तिको ठूलठूलो कुरा गर्ने नेताहरु अहिले सत्ताको होडबाजीमा छ । उनले हात जोड्दै भने, ‘जनतालाई ठूला-ठूला सपना देखाएर सत्ताका लागि राजनीति गर्ने नेताहरुको पछि कोही नलागेपनि हुन्छ, गरिब जनताले आन्दोलन गरेर, सहादत दिएर सत्तामा पुर्याए पनि गरीब तथा शहिद परिवारको भावनासँग खेलवाड गरेको छ ।’
अधिकारको लडाइमा आफ्नो दाइको शहादतले मुटुमाथि पत्थर राखेर बाँचेका राजु चौधरीको पीडा पनि उस्तै छ । शहिदकै नाममा जनताले सत्तामा पुर्याए पनि प्रदेश सरकारले शहिदप्रति चासो नदेखाउँदा राजु चिन्तित छन् । उनले शहिद परिवारलाई ५०/५० लाख रुपैयाँ दिने घोषणा गरेपनि अहिले उक्त निणर्यबाट पन्छिन् खोजेको आरोप लगाए ।