
काठमाडौं : आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय लागू हुने भएको छ।
सरकारको नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ। सरकारले आजदेखि यो नियम लागू गर्ने निर्णय गरेको थियो।
यससँगै सार्वजनिक सवारीका साधनमा पनि खोप कार्ड अनिवार्य गरिएको छ। स्थानीय प्रशासनले यसको अनुगमन गर्ने भएका छन्।
खोप कार्ड अनिवार्य गरिएसँगै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ। सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने विज्ञहरुको भनाइ छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले कुल जनसङ्ख्याको ५३ प्रतिशतले एक मात्रा र ४१.४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्।
यसैगरी लक्षित जनसङ्ख्यामध्ये ८०.९ प्रतिशतले एक मात्रा र ६३.१ प्रतिशतले पूर्ण खोप लगाएका छन्।