गोविन्द महतो, 

जनकपुरधाम : खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत व्यापारीहरुले किसान बनेर सरकारलाई धान बेच्ने गरेको खुल्न आएको छ । सरकारले धानको समर्थन मूल्य तोकेर खरिद गर्दै आएकोमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय जनकपुर मार्फत किसानको नाममा व्यापारीले धान बेच्दै आएको हो ।

व्यापारीहरुले किसानको सिफारिस लिएर कम्पनीमा धान बेच्ने गरेका हुन् । कम्पनीको जनकपुरधाम सोहनी मुजेलिया स्थित कार्यालयमा किसानको सिफिारिस लिएर धान बेच्न व्यापारीहरु आउने गरेका छन् । धनुषा, महोत्तरी जिल्लाका किसानहरुले उत्पादन गरेको सोना मन्सुली धान गत पुस २८ गतेदेखि कम्पनीको कार्यालयले खरिद गरिरहेको छ । किसानहरुको मात्र धान खरिद गर्ने भनिए पनि नक्कली किसान बनेर व्यापारीहरुले धान बेच्न आउने गरेको श्रोतले जनाएको छ ।

कम्पनीले किसानको जग्गा धनी लालपुर्जा, स्थानीय निकायबाट किसान भएको सिफारिसको आधारमा किसानको ४० क्विन्टल भन्दा बढी धान खरिद गरिरहेको छ । यसैको फाइदा उठाउँदै जनकपुरका धान व्यापारीहरु पनि वडाध्यक्षलाई प्रलोभनमा पारी आफूलाई ‘किसान’ भएको सिफारिस लिएर जनकपुरमा धान बिक्री गर्न आउने गरेका हुन् ।

धान बेच्न आएका महोत्तरी लोहारपट्टी ६ कविलासाका किसान पुरन साहले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विचौलिया मार्फत व्यापारीको धान किनिरहेको तर किसानको धान किन्न आनाकानी गरिरहेको आरोप लगाए । ‘हामी सानो किसान टायर गाडामा कोशौ टाढाबाट धान बेच्न यहाँ सम्म आईपुग्यौं तर यहाँ अनेकन बहाना बनाएर हामीलाई रोकेको छ । हाकिम सा’बले सिफारिस छैन, तपाईको धान हामी खरिद गर्दैनौं, घर लैजाउँ भन्छ, बिहानदेखि गोरु भोकै छ, यस्तो चिसोमा कठ्याग्रीएर आएपनि साँझको साढे ५ बजिसक्यो अब घर फर्काएर लानुपर्छ’ साहले भने ।

उनी जस्तै धान बेच्न आएका धनुषा लक्ष्मिनियाका सखिचन्दन यादवले टायरगाडामा ५–१० क्विन्टल धान बेच्न आएपनि सिफारिस अनिवार्य गरेपछि धान बेच्नबाट बञ्चित भएको गुनासो गरे । उनले भने, ‘मेरै गाउँको अन्य मानिसहरुले थोर बहुत बिना सिफारिस, विना टोककै धान किन्यो, मैले धान ल्याउँदा अब अनिवार्य टोकन सिफारिस चाहिन्छ भन्छ, तर मसंग टोकन छैन । विचौलियाहरुलाई टोकन उपलब्ध गराएको छ, हामी सानो तिनो किसान जताबाट पनि मार्कामा हुन्छौं ।’

टायरगाडामै धान बेच्न आएका अर्का किसान रामबाबु यादवले कुपन बेगर कार्यालयको हाताभित्र समेत प्रवेश गर्न नदिएको बताए । उनले भने, ‘हामीसंग किसानको सिफारिस छ, तर टोकन छैन, विहानै देखि सडकमा लाईनमा छौं साँझ परिसक्यो तर टोकन विना धान नकिन्ने भन्छ, हामीलाई साह्रै अप्ठयारो भो ! टोकन लिन सोर्स फोर्स चाहिन्छ, हामी सानो किसान कहाँबाट आउछ, सोर्स अब साँझ पनि परिसक्यो धान फर्काएरै लानुपर्छ होला’ मलिनो अनुहार पार्दै यादवले दुःखेसो पाखे । विहिवार उनीजस्तै दजर्नौ किसानहरु टायरमा ५–१० किवन्टल धान लिएर बेच्न आएका थिए । तर उनीहरुको धान कम्पनीले किन्न नमान्दा कतिपयले फर्काएर लग्न बाध्य भएका थिए ।


खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय जनकपुरधाम निमित्त प्रमुख उपेन्द्र लिङदेलले वडा कार्यालयबाट आफूहरु किसान भएको सिफरिस लिएर केही व्यापारीहरु कम्पनीको कार्यालयलाई धान बिक्री गर्न आएको स्विकारे । उनले भने, ‘विचौलियाहरुको धान लिन नमानेपछि अब टायरगाडा भाडा गरेर किसान हो भनेर देखाउन अन्य सर्वसाधारण किसानलाई प्रलोभन दिएर पठाउने गरेको छ ।’

उनका अनुसार केही व्यापारीहरु वडा कार्यालयबाट किसान भएको सिफारिस लिएर धान बेच्न आएका थिए । तर उनीहरु किसान नभई व्यापारी भएर पटक–पटक धान बेच्न आएको शंका भएपछि उनीहरुको धान फिर्ता पठाइदिएको लिङदेलले जानकारी दिए । ‘२५ क्विन्टल भन्दा बढी धान लिएर आउने किसानलाई लालपुर्जा, सम्बन्धित वडाको सिफारिस अनिवार्य चाहिन्छ ।’

प्रमुख लिङदेलले भने, ‘पछि बुझ्दै जाँदा उनीहरु किसान नभई व्यापारी भएको थाहा हुन आयो । दुबैजनाको धान हामीले फिर्ता पठाई दियौं ।’ व्यापारीहरु किसान बनेर कम्पनीमा धान बेच्न नआओस् भनेर आफूहरु चनाखो भएको तर यसमा सम्बन्धित वडाका अध्यक्षज्युहरु पनि सचेत भए वास्तविक किसानहरुको नै धान खरिद गर्नमा सहज हुने लिङ्देलको भनाइ छ । उनले व्यापारीहरु किसानको सिफारिस लिन आउँदा सिफारिस नगर्न तथा वास्तविक किसानलाई मात्रै सिफारिस दिन जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधाम शाखाले १५ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको छ । गत वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ थियो ।


२०७८ माघ १०, सोमबार १८:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु