
काठमाडौँ : यो वर्षको अस्ट्रेलियन ओपनको महिला एकल तर्फको उपाधि अस्ट्रेलियाली टेनिस खेलाडी विश्व नं. १ आस्ले बार्टीले जितेकी छिन् । कुनै पनि अस्ट्रेलियाली खेडालीले सन् १९७८ अर्थात् ४४ वर्ष पछि अस्ट्रेलियन ओपनको उपाधि जितेको यो पहिलो पटक हो ।
रड लाभर एरेनामा खचाखच घरेलु दर्शक माझ भएको फाइनलमा बार्टीले डानियल कोलिन्सलाई सहजै पराजित गरेकी थिइन् । बार्टीले ६–३, ७–६ ले खेल जितेर इतिहास रचिन् ।
यसअघि शुक्रबार भएको सेमिफाइनलमा बार्टीले अमेरिकी युवती म्याडिसन कीज लाई ६–१, ६–३ को सोझो सेटमा सहजै पराजित गरेकी थिइन् । सन् १९८० मा अस्ट्रेलियाली महिला वेन्डी टर्नबुलले अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेयता पहिलो पटक बार्टी फाइनलमा पुगेकी थिइन् ।
शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा २७औं वरियताकी अमेरिकी सुन्दरी डानियल कोलिन्सले सातौं वरियताकी इगा स्वाइटेकलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेकी थिइन् ।
पुरुष एकल तर्फको फाइनल भिडन्त भोलि आइतबार हुँदैछ । यस फाइनलमा राफायल नाडाल र डानील मेडेभेडेभ प्रवेश गरिसकेका छन् ।