
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय मातहतको अत्यन्त चर्चित र विवादास्पद स्वच्छता अभियान कार्यक्रम त्यहाँबाट हटाइएको छ ।
मन्त्रिपरिषदको बैठकले स्वच्छता अभियान कार्यक्रमलाई खानेपानी तथा उर्जा मन्त्रालयमा सार्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालय अन्तर्गतको स्वच्छता अभियानलाई खानेपानी तथा उर्जा मन्त्रालय र ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ । मुख्यमन्त्री कार्यालयबाट यी दुबै कार्यक्रम हटेसँगै अब त्यहाँबाट नियमनको काम मात्र हुने बताइएको छ ।
मुख्यमन्त्री कार्यालय स्वच्छता अभियान र बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा अत्यन्त विवादमा परेको थियो । स्वच्छता अभियानमा ७६ करोड बजेट रहेको छ । तर त्यस मध्ये नयाँ बजेट २० करोड मात्र रहेको बताइन्छ ।
मुख्यमन्त्री कार्यालयबाट अभियान सञ्चालन हुँदा व्यापक आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । स्वच्छता अभियान मुख्यमन्त्री कार्यालयबाट हटाइए पनि खानेपानी तथा उर्जा मन्त्रालयमा त्यसलाई गाभेर पर्साका मन्त्री ओमप्रकाश शर्मालाई खुशी बनाउने प्रयास गरिएको छ ।
बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत मुख्यमन्त्री कार्यालयले साइकल बितरण र बेटी बीमा कार्यक्रम सञ्चालन गरेको थियो । तर साइकल खरिदमा व्यापक अनियमितता भएको आरोपमा अख्तियारले त्यसको प्रारम्भिक छानविनमा कैफियत देखिएको सार्वजनिक गरिसकेको छ । हाल प्रदेशमा साइकल वितरणको कार्यक्रम रोकिएको छ ।
बेटी बीमा कार्यक्रम रोकिएको तीन आर्थिक वर्ष भइसकेको छ । बेटीको मुद्दति खाताका लागि प्रभु बैंकसित भएको सम्झौता भंग भएपछि पुनःकार्यक्रम सुरु हुन सकेको छैन् । तर मुख्यमन्त्री राउतले सोमवार आयोजित एउटा कार्यक्रममा बेटी बीमा चाँडै सुरु हुने बताएका छन् । सामाजिक विकास मन्त्रालयले पनि चाँडै कार्य विधि बनाएर अगाडि बढने जनाएको छ ।