काठमाडौं : युक्रेनमा रुसले आक्रमण गर्न सक्ने आशंकाको बीच अमेरिकाले यसै साता युरोपमा अतिरिक्त सैनिक परिचालन गर्ने निणर्य गरेको छ ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अतिरिक्त सैनिक परिचालन गर्ने निणर्य भएको जानकारी दिएका हुन् । बीबीसीका अनुसार अहिले अमेरिकाले परिचालन गर्न लागेका सैनिकलाई पोल्याण्ड र जर्मनीमा खटाइनेछ । त्यस्तै जर्मनीमा यसअघि नै रहेका एक हजार सैनिक रोमानियामा खटाइने छ । रुसले निरन्तर युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ ।

रुसले युक्रेनको सीमामा करिब एक लाख सैनिक तैनाथ गरेको छ । रुसले युक्रेनमाथि पूर्वी क्षेत्रमा शान्ति कायम गर्ने विषयमा भएको अन्तर्राष्ट्रिय सम्झौता पालना नगरेको आरोप लगाएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुस समर्थित समूहको वर्चस्व छ । सन् २०१४ यता यो क्षेत्रमा कम्तीमा १४ हजारभन्दा धेरै मानिसहरु मारिइसकेका छन् ।

अमेरिकाले युरोप पठाउन लागिएका सैनिकहरु युद्धमा सामेल हुने छैनन् तर उनीहरुले युरोपका मुलुकको रक्षाको लागि सहयोग गर्नेछन् । यसअघि अमेरिकाले युद्धको अवस्थालाई ध्यानमा राख्दै ८५ सय सैनिकलाई अलर्टमा राख्ने घोषणा गरेको थियो ।

२०७८ माघ २०, बिहीबार ०८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय