
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । कार्यकालको सातौं महिनामा प्रधानमन्त्री देउवाले निजी सचिवालयमा नियुक्ति गरिरहेका छन् । यसैक्रममा परियार प्रेस सल्लाहकार नियुक्त भएका हुन् ।
देउवाको अघिल्लो कार्यकालमा प्रेस सम्योजक रहेका परियार त्यसवखत अन्नपूर्ण पोष्टमा कार्यरत थिए । प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएसँगै अन्नपूर्ण पोष्ट छोडेका परियारले प्रधानमन्त्रीको कार्यकाल पूरा भएपछि काठमाडौं प्रेस डटकम अनलाइन पोर्टल संचालन गर्दै आएका छन् ।
प्रधानमन्त्री नहुँदा पनि कांग्रेस सभापति देउवाका ट्विटर तथा फेसबुकसहितका सामाजिक सञ्जाल चलाउँदै आएका परियार यसअघि औपचारिक रुपमा नियुक्त नभए पनि प्रधानमन्त्रीको सचिवालयमै काम गरिरहेका थिए ।
यसअघि भाषण तथा मन्तव्य विज्ञमा किरण गजुरेल र सूचना प्रविधि विज्ञमा इन्जिनियर दिपेश केसी नियुक्त भएका थिए । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भने भतिजा भानु देउवा केही महिनाअघि नै नियुक्त भएका हुन् ।
प्रशासन विज्ञका रुपमा पनि पूर्वसचिव जनार्दशन नेपाल नियुक्त भएका थिए ।