जनकपुरधाम : राष्ट्रिय समाचार समिति (रासस) काे ६१औं वार्षिकोत्सबकाे अवसरमा मधेस प्रदेशबाट वर्षकाे उत्कृष्ट समाचारदाताकाे रूपमा यस शिरीष न्युज डटकम तथा खबर दर्पण दैनिकका सम्पादक समेत रहेका अजयकुमार साह (धनुषा) लाई पुरस्कृत गर्ने भएको छ ।
रासस सञ्चालक समितिको आज बसेको बैठकले रासस ले ६१औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरे अनुसार मधेस प्रदेशबाट धनुषाका साहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । पत्रकार साह राससबाट दोश्रो पटक पुरस्कृत हुने अवसर प्राप्त गरेका छन् । यस अघि साह उत्कृष्ट आलेख लेखन पुरस्कारले राससबाट सम्मानित भई सकेका छन् ।
त्यसैगरी पुरस्कृत हुने स्थानीय समाचारदाताहरुमा प्रदेश नं १ बाट दिलकुमार लिम्बू, (फुङलिङ, ताप्लेजुङ), वाग्मती प्रदेशमा देवराज सुवेदी, (सिन्धुपाल्चोक), गण्डकी प्रदेशबाट तारानाथ आचार्य (बलेवा, बागलुङ), लुम्बिनी प्रदेशबाट सुशीला रेग्मी, (रामपुर, पाल्पा), कर्णाली प्रदेशबाट मिमबहादुर रावल (कालीकोट) र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह विष्ट (बैतडी) रहेका छन्।
यसैगरी ‘भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू’ शीर्षकमा रञ्जीता अधिकारी (देउखुरी, दाङ) लाई आलेख समाचारमा पुरस्कृत गरिएको छ ।
त्यस्तै सक्रिय रुपमा फोटोग्राफीमा खटिए वापत रासस केन्द्रीय कार्यालयका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ र भीषण वर्षा, बाढी-पहिरो, हिमपातका अवस्थामा पनि जोखिम मोलेर निरन्तररूपमा मनाङ जिल्लाबाट उत्कृष्ट तस्वीर सम्प्रेषण गरे वापत नवीन लामिछानेलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेकाे छ ।
पुरस्कारको राशि जनही रु.१५ हजार तथा प्रशंसापत्र रहेको छ ।