काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रित हुने लहर नै चलेको बताएका छन्। उनले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।’
अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकाका लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गरे। मधेसमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ थियो।
नेपाली कांग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई आज माओवादीमा प्रवेश गराउँदै उनले सो कुरा बताएका हुन्। नवप्रवेशीलाई अध्यक्ष दाहालले आज एक कार्यक्रमबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन्। उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने उनको भनाइ थियो।
यसरी प्रवेश गर्नेहरुमा एमालेमा रहेका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडाध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानुसहितका नेता तथा कार्यकर्ता छन्। त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गरेका थिए।