
काठमाडौं : नाबालिग गायिका समीक्षा अधिकारीले नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । बुधवार समीक्षाले जबर्जस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् । उनी प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा पुगेकी थिइन् ।
यसअघि पनि समीक्षाले पलविरुद्ध उजुरी दिने तयारी गरेकी थिइन् । तर, उनले प्रहरीमा उजुरी दिन लागेको सूचना पाएपछि पल शाह समीक्षालाई फकाउन पोखरा पुगेका थिए । त्यहाँ उनीहरुबीच सहमति भएको खबर बाहिर आएको थियो । तर, सोमवार अडियो रेकर्ड बाहिर आएपछि समीक्षाले तनहुँको दमौली पुगेर उजुरी दिएकी हुन् । समीक्षाले उजुरीमा कानून बमोजिम पल शाहलाई कडा सजायको माग गरेकी छन् ।
पलसँगको अडियो रेकर्डमा समीक्षाले विवाहको अड्डी कसेकी थिइन् भने महिला अधिकारकर्मी जस्मिन ओझासँगको बयान (अडियो रेकर्ड) मा उनले पल शाहले आफूमाथि जबर्जस्ती करणीको प्रयास गरेको, मायाको नाटक गरेर धोका दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पन्छिन खोजेको बताएकी थिइन् ।
कानुनअनुसार, १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै राखिएको शारिरिक सम्बन्ध पनि बलात्कार हो । गायिका समीक्षा अधिकारी उमेरले १७ वर्षकी भएकी छन् । तनहुँ प्रहरीले पल शाहलाई पक्राउ गर्न कानुनी प्रक्रिया थालिसकेको जानकारी प्राप्त छ ।