
एजेन्सी : आक्रमण सुरू गरेको दोस्रो दिन रूसी सैनिकहरू युक्रेनको राजधानी किएभ पुगेका छन्। द न्युयोर्क टाइम्सका अनुसार शुक्रबार साँझ रूसी सैनिकहरू किएभ सहरको उत्तरी जिल्लामा आइपुगेका हुन्।
अधिकारीहरूले रूसी सैनिकहरू आइपुगेको क्षेत्रका मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्। छिमेकी बेलारूसबाट पसेका रूसी सैनिकहरू किएभनजिक पुगेका हुन्।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोकेर वार्ताका लागि आह्वान गरेका छन्। उनको वार्ताको आह्वानलाई मस्कोले भने ठाडै अस्वीकार गरिदिएको छ।
शुक्रबार मस्कोमा पत्रकार सम्मेलन गर्दै विदेश मन्त्री सर्जेई लाभरोभले आफूहरूले जेलेन्स्कीको सरकारसँग कुनै वार्ता र सम्झौता नगर्ने बताए। पश्चिमाहरूको पिछलग्गु किएभको सरकारले आफ्नै नागरिकमाथि नरसंहार गरिरहेको उनको आरोप छ।