काठमाडौं : नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोप पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यही अनुसार आइतबार नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
पूर्वमन्त्रीसमेत रहेका बानियाँले जुम्ला घर भएकी शिक्षिकालाई नेपालगञ्जस्थित होटल अप्सरामा बोलाएर बलात्कार गरेको आरोप थियो। आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्।
त्यसबारे नेता बानियाँले त्यो सबै झुट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको भन्दै बचाउ गरेका थिए।
सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् ।