एजेन्सी : रुस र युक्रेनका विदेश मन्त्रीबीचको वार्ता विना निष्कर्ष सकिएको छ । टर्कीको अन्टाल्यामा रुसी विदेश मन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाबीच आज बिहीवार भएको वार्तामा कुनै प्रगति नभएको बीबीसीले जनाएको छ ।

वार्तापछि बोल्दै रुसी विदेश मन्त्री लाभरोभले रुस युक्रेनमा मानवीयताको रक्षार्थ तयार रहेको पुरानै दाबी दोहोर्‍याउनुभएको छ । उहाँले युक्रेनले कसैकाे उक्साहटमा नलागी आफ्नो निर्णय आफैँ गरोस् भन्ने रुसी चाहना रहेको बताउनुभएको खबरमा उल्लेख छ । लडाइँ भइरहेका सहरबाट नागरिकलाई बाहिर निकाल्नका लागि रुसले सहयोग गरिरहेको विदेश मन्त्री लाभरोभको भनाइ छ ।

यस्तै वार्तापछि बोल्दै युक्रेनका विदेश मन्त्री कुलेबाले वार्तामा कुनै प्रगति नभएको र आफूहरूले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याएकाे बताउनुभयो । ‘म दोहोर्‍याउन चाहन्छु, युक्रेनले कहिल्यै आत्मसमर्पण गरेन, गर्दैन र गर्ने पनि छैन’, कुलेबाले भन्नुभएको छ ।

रुसले आफ्नाे देशमा युद्धविराम गर्नुपर्ने र सेना फिर्ता गर्नुपर्ने युक्रेनको अडान रहेको छ । तर वार्तामा मावनीय समस्याको समाधान खोज्ने सम्भावनाका विषयमा भने सकारात्मक छलफल भएको र थप वार्ताका लागि दुवै पक्ष तयार रहेको युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।


२०७८ फाल्गुन २६, बिहीबार १४:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय