जनकपुरधाम :  नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार निर्वाचित भएका छन् ।

शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेको थियो । योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत पाएका छन् । ३३ मत भने बदर भएको छ ।

धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६३४, क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको थियो ।यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबभन्दा धेरै मत पजियारले नै ल्याएका थिए । तरपनि उनको पक्षमा बहुमत पुग्न सकेको थिएन ।

कुल ३ हजार १७३ मतदातामध्ये पहिलो चरणमा २ हजार ९१२ जनाले मतदान गरेका थिए । पजियारले १ हजार २४८ मत पाएका थिए भने संतोषले ८८२ र दिनेश प्रसाद प्रसैलाले ६३० मत पाए । त्यस्तै, १५१ वटा मत बदर भएको थियो ।

कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।


२०७८ फाल्गुन २८, शनिबार ०६:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय