
काठमाडौं : नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल बिन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतल निवास पुगेर साउदी विदेशमन्त्री साउदले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति प्रवक्ता सागर आचार्यले जानकारी दिए।
भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको आचार्यले दिए।
सोमबार काठमाडौं उत्रिएका साउदी विदेशमन्त्री साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन्।
साउदको भ्रमणका क्रममा नेपाल र साउदी अरबबीच जनरल को-अप्रेसन एग्रिमेन्ट (सहयोग सम्झौता)मा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट राजकुमारसमेत रहेका साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका हुन्।