
नेपालवाणी सम्वाददाता,
बर्दिबास : महोत्तरीको बर्दिबास-३ स्थित जनसेवा हस्पिटलले स्वास्थ्य सेवालाई सहज र विस्तार गरेको छ । हस्पिटलको १५ औं वार्षिकोत्सवको अवसरमा आज मङ्गलबार सञ्चालक बोर्डका अध्यक्ष सुमन भुजेलले सेवा सहज र क्रमशः विस्तार गरिदै लगिएको बताएका हुन् ।
विक्रम सम्वत् २०६४ सालमा जनसेवा पोलीक्लिनिक नाउँबाट सेवा प्रारम्भ गरेको यो हस्पिटलले एक बिघा पाँच कठ्ठा क्षेत्रफलमा अत्याधुनिक भवन बनाएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेको हस्पिटलले ओटी , आइसु, एनआईसु र भेन्टिलेटरसहितको सुविधा बढाएको वार्षिकोत्सव समारोहमा अध्यक्ष भुजेलले जानकारी दिए ।
“हामीले १२ जना दक्ष (MD) चिकित्सक र पर्याप्त स्वास्थ्यकर्मीबाट सेवा दिई रहेका छौं” अध्यक्ष भुजेलले भने, “हाडजोर्नी, स्त्री रोग, आकष्मिक र रेडियोलोजी सेवा २४ सै घण्टा उपलब्ध बनाएका छौं ।” हाडजोर्नीका समस्याग्रस्त कैयौं बिरामीको ‘हेमी रिप्लेस’ सफलतापूर्वक गरिएको भुजेलको भनाइ छ । हस्पिटलले अत्याधुनिक प्रविधिबाट सम्पूणर् शरीरका अङ्ग-अङ्गको जाँच विशेषज्ञले गरी रहेका जनाएको छ ।
हस्पिटलले सर्जरी क्षेत्रमा इण्डोस्कोपी प्रविधिबाट शल्यकृया थालेको छ । शरीर चिरेर शल्यकृया गरिने पुरानो शैलीको उपचारका ठाउँमा अब कतिपय दीर्घ समस्याका रोगीको साना प्वालबाटै सफल उपचार गरिन लागिएको समारोहमा जानकारी दिइएको छ । पित्त वा मिर्गौलाको पत्थरी, आन्द्रामा हुने समस्या र एपेण्डिसाइटिक्ससहितका समस्या अब यसै प्रविधिबाट थालिएको भुजेलले बताउनुभयो । हस्पिटलले चाँडै यस्तै अत्याधुनिक प्रविधिको ल्याप्रोस्कोपी सेवा प्रारम्भ गर्न लागेको जनाएको छ ।
बर्दिबासक्षेत्रमा निजीस्तरबाट सञ्चालित यो हस्पिटलले नै शल्यकृयाबाट सुत्केरी सेवा थालेको थियो । दक्ष विशेषज्ञको सेवा, उच्चतम प्रविधिको उपलब्धता, अत्याधुनिक स्वास्थ्य उपकरण , दक्ष विशेषज्ञको प्रत्यक्ष रेखदेखमा सञ्चालित प्रयोगशाला र हस्पिटलमा देखिने भौतिक व्यवस्थापनले अब आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाइने कुराले यस भेगमा नयाँ विश्वास जगाएको छ ।
हस्पिटलले सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार सरल र कम खर्चिलो बनाउन ‘स्वास्थ्य सेवा परिचयपत्र’ को व्यवस्था गरेको छ । सेवाग्राही दुई हजार रुपैंञाँ जम्मा गरेर यो सेवा प्राप्त गर्ने सदस्य बन्नसक्ने छन् । सेवाग्राहीले पाँच जनासम्म परिवारका सदस्यको उपचारमा वर्षभरि हुने खर्चमा २० प्रतिशत छुट पाउने व्यवस्था रहेको हस्पिटलले जनाएको छ । यो सरकारको सहज र सरल स्वास्थ्य सेवामा पहुँच बढाउने नीतिअनुरुप थालिएको हस्पिटलले जनाएको छ । यसबाहेक सम्बद्ध निकायबाट प्रमाणित अति विपन्न परिवारका सेवाग्राहीको उपचार निशुल्क गर्ने व्यवस्था विगतदेखि नै रहँदै आएको हस्पिटलका जनसम्पर्क तथा सूचना अधिकृत विक्रम रौनियारले जानकारी दिए । यसअनुसार २५ हजारभन्दा बढी विपन्न परिवारका सेवाग्राहीले सेवा लिएका हस्पिटलको तथ्याङ्कले देखाएको छ ।
हस्पिटलले दक्ष स्वास्थ्यकर्मीको जनशक्ति बढाउन औपचारिक स्वास्थ्य शिक्षाको अवधारणा विकास गरेको छ । हाल कानुनी स्वीकृति र अन्य प्रकृया बढाइँदै गरिएको ‘बर्दिबास जनसेवा प्राविधिक शिक्षालय’ ले हेल्थ असिसटेन्ट, स्टाफ नर्स, फार्मेसी, रेडियोग्राफी र मेडिकल ल्याव टेक्नोलोजीसहितका दक्ष जनशक्ति उत्पादन गर्ने लक्षसाथ काम अघि बढाइएको रौनियारको भनाइ छ ।
सिङ्गो मधेश प्रदेशभित्र निजीस्तरबाट सञ्चालित जनसेवा हस्पिटलको भौतिक व्यवस्थापन अत्यन्त समृद्ध रहेको यहाँ पुग्ने जोसुकैले प्रत्यक्ष देख्छन् । भौतिक व्यवस्थापनसँगै स्वास्थ्य सेवा विश्वासिलो र भरपर्दो बनाउन सम्बद्धपक्षले अझ प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन पर्ने यसभेगका सर्वसाधारण बताउँछन् ।