नेपालवाणी / जनकपुरधाम, 
महोत्तरी : कारागार कार्यालय महोत्तरी जलेश्वरमा बिभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी बन्दीहरुलाई मैनबत्ति तालिम प्रदान गरिएको छ । कारागारमा कैन्दी जिवन विताउँदै महिलाहरुलाई सिप सिकेर आत्मनिर्भरताका लागि द हेल्पिङ्ग ह्याण्डस् जनकपुरले मैनबत्ति तालिम प्रदान गरेको हो ।

तालिमको समापण समारोहमा बोल्दै कारागार प्रमुख अशोक कुमार यादवले सकारात्मक सोच र केही गरेर देखाउँछु भन्ने ऊर्जाका साथ आफ्नो काममा तल्लीन रहन र आम्दानी वृद्धि गर्न सहभागी कैदीबन्दीहरुलाई आग्रह गरे ।

‘सरकारले हामीलाई विभिन्न सीपमुलक तालिम दिएर हामी यहाँबाट छुटेपछि समाजमा केही राम्रो काम गरेर बस्न सक्थ्यौँ, त्यो अनुरुप यो मैनबत्ति तालिमले हामीलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ ।’ कैदी रिना राउतले भनिन–‘हामी कैदीबन्दीलाई सबैले नकरात्मक दृष्टिले हेर्ने गर्छन् । हामी यहाँ बस्दा त त्यसै पनि नराम्रो भइन्छ । यहाँबाट निस्किएपछि पनि केही काम पाईएन भने झनै नराम्रो भइन्छ । तसर्थ सरकारले हामीलाई सीपमुलक तालिम दिएर असाध्यै राम्रो काम ग¥यो । सरकारलाई धन्यवाद छ ।’

कैदीबन्दीहरुलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताउँदै कैदी बन्दी असिमा खातुनले भने–‘मान्छेबाट जानी नजानी कुनै बेला गल्ती हुन सक्छ । त्यही गल्ती आगामी दिनमा नहोस् भनेर नै मान्छे कारागारमा बसेको हुन्छ । त्यसैले उनीहरुलाई नकारात्मक दृष्टिले हेर्नु उचित हुँदैन । अहिले हामीले यो तालिम लिएर मन भुलाउनलाई भएपनि मैनबत्ति बनाउन आवश्यक सामग्री सरकारले उपलब्ध गराईदिन अझ आभारी हुने थिए ।’

कारागार भित्र कैदी बन्दीले उत्पादन गर्ने सामग्रीहरुको उचित व्यवस्थापनका लागि पनि सरोकारवालाले ध्यान दिनुपर्ने द हेल्पिङ्ग ह्याण्डसका अध्यक्ष ममता महतोको भनाइ छ । तालिमको समापण समारोहमा महिला कैदीबन्दीका सुरक्षाकर्मी रुपा सापकोटा, स्टोर प्रमुख नितु कुमारी मण्डल, लेखापाल नन्दकिशोर महतो, चनरदीप यादव सहितका कारागार व्यवास्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जलेश्वर कारागारमा हाल झण्डै क्षमता भन्दा तीन गुणा बढी कैदी बन्दी राखिएको छ । महोत्तरी र धनुषाका साथै केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा तीन गुणा भन्दा बढी कैदी तथा बन्दी छन् ।

१ सय ४५ जनासम्मको कैदी तथा बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा अहिले साढे ४ सय जना कैदी तथा बन्दी रहेको जेलर अशोक कुमार यादवले बताए ।

२०७८ चैत्र ३, बिहीबार १५:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय