
महोत्तरी : महोत्तरीबाट ५५ लाख नगदसहित दुई जना पक्राउ परेका छन्।
आइतबार बिहान पौने १० बजे औरही नगरपालिका-१ औरहीबाट दुई जनालाई सो रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।
बर्दिबास-जलेश्वर सडकखण्डमा ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले चेक गरेको थियो। त्यसमा सवार सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धिरजकुमार यादव र १८ वर्षीय रामशरण यादवलाई पक्राउ गरेको पंगेनीले बताए।
धिरजकुमारले बोकेको कालो कपडाको झोलामा ५५ लाख नगद बरामद भएको उनले बताए। बरामद भएको रकममा एक हजार दरका ४५ थान र पाँच सयका दुई हजार थान नगद छन्।
स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालय जलेश्वरमा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।