
हेटौंडा : नेपाल खेलकुद महासंघ मकवानपुर जिल्ला कमिटी र भुटनदेवि युवा क्लवको संयुक्त आयोजनामा खुल्ला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता बुधबारबाट हेटौंडामा सुरु भएको छ ।
२४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले उद्घघाट्न गरे । चार दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २६ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा विभिन्न व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री पौडेलले खेलकुद देशलाई चिनाउने एउटा महत्वपूणर् माध्यम रहेको बताए । खेलको माध्यमबाट नेपालको चिनारी विश्वसामु गराउन सहज हुने भन्दै खेलकुद गतिविधिलाई थप मर्यादित तथा अनुशासित बनाउनुपर्नेमा जोड दिदैं प्रतियोगिता सफलताको शुभकामना दिए ।
नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य धरम बहादुर लामाले स्थानीय स्तरमै सिमित रहेर खेल खेल्न बाध्य खेलाडीहरुलाई आफ्नो कौशल प्रदर्शन गर्न अवसर प्रदान गर्ने हेतुले सबै खेलका प्रतियोगिताहरु आयोजना गर्दै जाने महासंघ केन्द्रको नीति अनुसार यो प्रतियोगिता आयोजना गरिएको बताए ।
खेलकुद प्रतियोगिताहरुको क्यालेण्डर नै सार्वजनिक गरेर अघि बढेको खेलकुद महासंघ मकवानपुरले पहिलो कार्यक्रमको रुपमा ८ मार्चका दिन खुल्ला महिला दौड प्रतियोगिताको आयोजना गरेर अभियानको थालनी गरेको थियो भने गतहप्ता मात्रै राष्ट्रिय चेस प्रतियोगिता सम्पन्न गरेको जिल्ला अध्यक्ष सविन मोक्तानले बताए । महासंघले आफ्नो क्यालेण्डर अनुसार आयोजना गरिने भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी समेत शुरु गरिसकेको छ ।
प्रतियोगिताको पहिलो दिन सात वटा खेल सम्पन्न भए । उद्घाट्न खेलमा गोर्खा ब्वाईजले भुटनदेवी युवा क्लबलाई शुन्यका विरुद्ध दुई गोलले पराजीत गर्यो । त्यसैगरी आरआरएफसीले ७ नम्बर फुटबल टिमलाई १-० हरायो भने न्यु कम्बाईन क्लबले पदमपोखरी फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ गोल अन्तरले पराजीत गर्यो । त्यस्तै रियल स्टार युवा क्लब हर्नामाडी कमलदेवी युवा क्लबसँग शुन्यका विरुद्ध १ गोलले पराजीत हुन पुग्यो ।
बुधबार सम्पन्न बाँकी सबै खेलको नतिजाका लागि पेनाल्टीको साहारा लिनुपर्यो । न्यु मर्निङ युवा क्लबले सिमलटार युवा क्लबलाई ३-२ गोलअन्तरले पराजीत गर्यो । त्यसैगरी शिखर क्लब थाहानगरले हेटौंडा फुटबल एकेडेमीलाई २-० ले पराजित गर्यो भने शान्ति क्लबले फ्रेन्च क्लब बारालाई सडेनडेथमा ६-५ गोलअन्तरले पराजीत हरायो । प्रतियोगिता अन्र्तगत बिहिबार पनि सात वटै खेल सञ्चालन गरिनेछ ।