
सप्तरी : नवप्रतिभाहरूलाई प्रोत्साहन र नयाँ कार्यसमिति गठन गर्दै प्रगतिशील लेखक संघ (प्रलेस) सप्तरीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सर्वसहमतरूपमा मेघराज पौड्यालको अध्यक्षतामा १३ सदस्य नयाँ समिति निर्वाचित गरेको छ । पौडेल पहिलो सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा पुनम पोखरेल, सचिवमा ईश्वरीप्रसाद नेपाल र कोषाध्यक्षमा गिरीराज पौडेल चयन हुनु भएको छ ।
यसैगरी सदस्यहरूमा मनोहर पोखरेल, सुमित्रा दास, किशोर चौधरी, इन्द्र बहादुर थापा, अभित चौधरी, जयराम मण्डल र बैजनाथ यादव रहनु भएको छ ।
सप्तरीको कञ्चनरूपमा आयोजित प्रगतिशील लेखक संघको दोस्रो जिल्ला सम्मेलनमा माध्यमिक विद्यालयमा अध्ययनरत नवप्रतिभाहरू सुमित्रा परियार, प्रज्ञा कोइराला र विपशा चौधरीलाई प्रोत्साहनका लागि रातो गम्छा लगाएर सम्मान गरिएको छ । उहाँहरुले सम्मेलनमा अन्य स्रष्टाहरुसँगै आ-आफ्नो कविता वाचन गर्नुभएको थियो ।
सम्मेलनको उद्घाटन गर्नुहुँदै नेकपा (एमाले) केन्द्रीय सदस्य दिवाकर देवकोटाले पश्चिमा संस्कृति र यथास्थितीवादी संस्कृति हावी रहेकोले त्यसको विरुद्ध प्रगतिशील लेखकहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरीता गिरीले समाज परिवर्तका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भन्दै सांस्कृतिक जागरणका लागि प्रगतिबादी आन्दोलन आवश्यक रहेको बताउनु भयो ।
कञ्चनरूप नगरपालिका प्रमुख बसन्त कुमारले राजनीतिक दलका नेताहरूलाई पथप्रर्दशक बाटो हिडाउनका लागि लेखक, साहित्यकारहरूले खबरदारी गरिरहनु पर्ने बताउनु भयो । सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेलले राजनीतिक दलहरू र जनप्रतिनिधीहरूलाई सही बाटो हिडाउन प्रगतिशील लेखकहरूले खबरदारी गरिरहनु पर्ने बताउनु भयो ।
शुभकामना व्यक्त गर्नुहुँदै प्रलेस उदयपुरका सचिव श्याम ढुङ्गाना, सर्वोदय मावि कञ्चनरूपका पूर्व प्रधानाध्यापक तिर्थराज पोखरेल, मुरारी कार्की, विश्वनाथ न्यौपाने, हिरण्य गुप्ताले साहित्यकारहरूले संगठित रूपमा प्रभावकारी भूमिका खेल्ने बेला आएको बताउनु भयो । वक्ताहरूले सामाजिक विकृतिको भण्डाफोर गर्न र प्रगतीवादी आन्दोलनलाई माथी उठाउन आग्रह गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
मुरारी कार्की, तिर्थराज पोखरेल र गजेन्द्रप्रसाद दास रहनु भएको अध्यक्ष मण्डलको सञ्चालनमा भएको बन्द सत्रमा निवर्तमान अध्यक्ष पार्वती राउतले सांगठनीक प्रतिबेदन र निवर्तमान कोषाध्यक्ष ईश्वरीप्रसाद नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । मेघराज पौडेलले स्वागत मन्तव्य र गिरीराज पौडेलले सञ्चालन गर्नुभएको सम्मेलनमा एक दर्जन स्रष्टाहरुले कविता रलघुकथा वाचन गर्नुभएको थियो ।