गोविन्द महतो,

जनकपुरधाम : आफ्नै साथीको चाक्कु र गोली हानी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनुषाको हंसपु्र नगरपालिकामा गोली हानी शवलाई गहुँ खेतमा फालेको युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका-७ नौवाखोरका २० वर्षीय मनोज महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । बुधवार हंसपुर नगरपालिका-७ का १८ वर्षीय बिजय रामको हत्या गरी गँहु खेतमा फालिएको अवस्थामा शव फेला परेको थियो ।

शव फेला परेको खबर पश्चात प्रहरीले गरेको अनुसन्धानबाट यस घटनामा महरा सहित तीन जनाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएका छन् । प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको अनुसन्धान टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान र बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा बिजय राम मंगलवार राति ७ बजे ३ जना साथीहरुसँग घर बाहिर घुम्न जाने बहानामा निस्केका थिए ।

प्रहरीले घटनामा महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हंसपुर-७ कै १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल र महराले मिलेर बिजय रामलाई गोली हानी हत्या गरेको खुलेको प्रवक्ता बस्नेतले बताए । तीनै जनाले पुरानो रिसिबीको कारण बिजयको हत्या गरेको खुलेको हो ।

धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले हत्या गरिएका युवा र हत्या गर्ने सबैजना साथी नै रहेको र सोही क्रममा तिनीहरु बीच विवाद हुँदा हत्याको योजना बनेको बताए । उनले भने, ‘यिनीहरुसंगै लागुऔषध खाने गरेका थिए । सोही क्रममा विवाद भएछ । हत्या भएका युवाले विभिन्न व्यक्तिको घरमा चोरी गर्ने साथीहरुको नाम भनेपछि प्रहरीले खोजतलास गर्दा दुःख हुन्थ्यो । त्यसपछि हत्याको योजना बनाएको खुलेको छ ।’

घटना स्थलबाट बरामद भएको चस्मा र सर्ट पंकज मण्डलको रहेको मृत्तकका बुवा र पक्राउ परेका महराले सनाखत गरेका हुन् । पक्राउ परेका मनोजलाई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद लिई अनुसन्धान गरिरहेको र फरार रहेका दुबै जनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७८ चैत्र २४, बिहीबार १९:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय