
गोविन्द महतो,
जनकपुरधाम : धार्मिक आस्था, श्रद्धा एव्म विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्वको रुपमा मनाइने चैती छठ अन्तर्गत आज अस्ताउदो सूर्यलाई अर्घ दिईएको छ । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपुणर् पर्व चैते छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ दिईएको छ ।
चैत शुक्ल चतुर्थी देखि सप्तमी सम्म चार दिन सम्म मनाईने चैते छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई नहाय-खाय भन्ने गरिन्छ । खासगरी महिलाहरुले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसंगै चोखो चनाखो भएर सम्पुणर् विधिहरु गर्नुपर्ने मान्यता रही आएको जनकपुरधाम उप-महानगरपालिका १४ बस्ने सुनिता सिंह बताउँछिन ।
भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ति, ढकनी, चढाउने परम्परा रहेको छ । छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मर सम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ । तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ ।
पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । विहानको उदाउँदो सूर्यलाई दिइने अघलाई ‘भोरका अर्घ’ भनिन्छ । यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।
तराई मधेशको जिल्लाहरुमा छठ पर्व कार्तिक तथा चैत महिनामा मनाउने परम्परा रहेको छ । दुवै छठ पर्वको हिन्दु धर्ममा विशेष महत्व रहेको साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन् । होलीपछि छठको पारन नहुँदा सम्म माछामासु र मद्यपान वर्जित हुन थालेको छ । कात्तिकमा हुने छठकै सम्पूणर् विधि र प्रक्रिया चैती छठमा पनि हुन्छ । नियम, निष्ठा तथा श्रद्धामा कुनै किसिमको बदलाव छैन । बदलाव हुन्छ त केवल प्राकृतिक मौसमको । वास्तविक विक्रम सम्वतको पहिलो ठूलो पर्व चैती छठ भएको मैथिलीका प्राध्यापक परमेश्वर कापडि बताउँछन ।
कात्तिकको मूल छठ र चैतको छठको दुई सामयिक विशेषता छन् । कात्तिकको मूल छठ गर्मी बितेपछि जाडो आरम्भ हुने मौसममा हुन्छ भने चैती छठ जाडो बितेपछि गर्मी सुरु हुने मौसममा मनाइन्छ ।
कात्तिकको छठको लागि आवश्यक पर्ने धेरै सामानहरुको जोहो अलि पहिले देखि नै गर्नुपर्छ भने चैती छठको लागि आवश्यक धेरै सामानहरु बजारमा वा गाउँघरमै सजिलै पाइन्छन् । छठको लागि आवश्यक सामानहरु एउटै वा उस्तै भए पनि मौसमको कारणले व्रतालुलाई चैती छठको व्रत बस्न निकै कठिन हुन्छ भने तुलनात्मक रुपमा कात्तिकको छठको व्रत बस्न केही सजिलो हुन्छ । निराहार व्रत बस्नुपर्ने भएकोले चैतको गर्मीले व्रतालुलाई तिर्खाले सताउने डर हुन्छ ।
चैती छठको व्रतालु बढ्दै
चैती छठ गर्ने व्रतालुहरुको संख्या हरेक साल बढ्दो छ । केही वर्ष पहिले सम्म फाट्टफुट्ट हुने चैती छठले अहिले निकै विस्तार पाइसकेको छ । चैती छठ मान्नेहरु तीन किसिमका देखिएका छन् । पहिलो ती हुन् जो कुनै कारणवश कात्तिकमा गर्न पाउँदैनन् र छठ नगर्दा तिनको चैतमा छठ गर्नेपर्ने मानसिक दबाब हुन्छ ।
कात्तिकमा कुनै कारणले छठ गर्न छुटेकाहरु चैतमा छठव्रत गरेर मानसिक शान्ति प्राप्त गर्दछन् । चैती छठ मान्नेहरुमा दोश्रो ती व्रतालुहरु देखिएका छन् जो कात्तिकको पनि गर्दछन् र चैतको पनि । दुवै छठलाई मान्ने भाकल गर्नेहरुको संख्या बढ्दो छ । तेश्रोथरि ती हुन् जो केवल चैतको छठमात्र हुने गरेको मैथिलीका प्राध्यापक रामा महतो बताउँछीन ।
छठपर्व कात्तिक शुक्लपक्ष र चैत शुक्लपक्षमा गरी दुई पटक मनाइन्छ । कात्तिक शुक्लपक्षमा मनाइने छठलाई शारदीय (कैतकी) र चैतमा मनाइने यो पर्वलाइ वासन्ती (चैती) भनिने चलन छ । मिथिलामा शारदीय छठ जतिको उल्लास र सहभागिता वासन्ती छठमा नदेखिए पनि पछिल्ला एक दशकयता चैतमा पनि छठ मनाउनेको सङ्ख्या बढ्दै गएको छ । रोगव्याधी नलाग्ने, सन्तान सुख प्राप्त हुने र कल्याणदायक हुने विश्वासमा सूर्यको उपासना गरिने यो पर्व मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग नै मानिन्छ ।