
बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिका-२ टिकुलीपुर गाउँमा भएको आगलागीमा ११ घर जलेर नष्ट भएका छन् । स्थानीय सीताराम जैसीको घरबाट हिजो एक्कासी आगलागी शुरु भएको थियो ।
आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर ओली र कणबहादुर खत्रीको घर जलेको छ ।
गाउँपालिकामा दमकल नहुँदा तत्काल आगो निभाउन समस्या भएको र आगो अरु घरमा पनि सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट झण्डै एक करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । बिजुली सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी पीडितलाई तत्काल राहतका लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।