
नेपालवाणी,
जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिकाको समाजिक सुरक्षा भत्ता बैंकमा जम्मा गरेको चार महिना वितेपनि चासो नदिएका मेयरले बुधवार बैंकमा तालाबन्दी गरेका छन् ।
चार महिना अगावै बैंकमा पठाईसकेको समाजिक सुरक्षा भत्ताको रकम नदिएको भन्दै भंगहा नगरपालिकाका मेयरले स्वयंम नै बैँकमा ताला लगाएका हुन् । भंगहाका मेयर संजिव कुमार साहले भंगहा स्थित कुमारी बैंकको शाखामा तालबन्दी गरेका हुन् ।
नगरपालिकाबाट खातामा जम्मा गरेको समाजिक सुरक्षा भत्ता चार महिना सम्म पनि वितरण नगरेको भन्दै उनले भंगहाको सीतापुर बजार स्थित रहेको कुमारी बैंकको शाखामा आफै तालाबन्दी गरेका हुन् ।
बुधबार दिउँसो तालाबन्दी गरेपछि बैंकको सेवा प्रवाह बन्द भएको छ ।
उनले ४÷५ महिना अघि वृद्धभत्ता, एकल महिला भत्ता वापतको रकम बैंकमा जम्मा गरिसक्दा पनि हालसम्म बैंकले भत्ता नबाटेकोले बैँकमा तालाबन्दी गरेको जनाए । मेयर साह लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरका लागि पूनः सिफारिस भएकोले सस्तो लोकप्रियताका लागि चुनावी स्टन्ट गरेको कतिपयको बुझाई छ । तालाबन्दीपछि सुरक्षागार्ड तथा कर्मचारीहरु बैंक भित्रै थुनिएका थिए ।