जनकपुरधाम : धनुषामा सीटीईभीटीको परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय रामकृष्ण साह र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय लक्ष्मी नारायण झा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सीटीईभीटी बोर्डबाट सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भन्ने सूचनाको आधारमा धनुषा प्रहरीको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मोनाष्टिक आवासीय विद्यालयको परीक्षा केन्द्रमा ‘प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ’ को परीक्षामा परीक्षार्थी लक्ष्मीनारायण झाको ठाउँमा रामकृष्ण साहले परीक्षा दिइरहेकै बेला पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

त्यस्तै नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मीनारायण झालाई समेत सोही परीक्षा केन्द्रको वरिपरि घुमिरहेको अवस्थामा पक्राउ गरिएको थियो । दुवैजना माथि शिक्षा ऐनअनुसार कारबाही हुने जनाइएको छ । उनीहरूमाथि म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

२०७९ बैशाख ८, बिहीबार २१:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय