जनकपुरधाम : आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा थपिएको नयाँ दल हो, जनमत पार्टी ।

स्वतन्त्र मधेशको अभियान छाडेर मुलधारमा आएका डा. सिके राउतले आफ्नो नेतृत्वमा बनाएको यो पार्टीले पहिलो पटक निर्वाचनमा भाग लिन लागेको हो । यसअघि २०७४ सालको निर्वाचनमा कोठा बाहिर मतदान गर्ने अभियान चलाएका यो पार्टीले यो पटक आफैं कोठाभित्र मत मागिरहेको छ ।

मधेश प्रदेशका सबै स्थानीय तहका साथै प्रदेश नम्बर १, लुम्बिनी प्रदेशका केही स्थानीय तहमा उम्मेदवारी दिने तयारी भरहेको जनमत पार्टीका नेताहरु बताउँछन् ।

मधेश प्रदेशमा झण्डै ८० प्रतिशत उम्मेदवार पनि तय भइसकेको पार्टी अध्यक्ष डा. राउत बताउँछन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरको मेयरमा पार्टी सचिव अनिता साहलाई उम्मेदवार बनाएको छ । वीरगञ्ज, राजविराजसहितका प्रमुख शहरमा उम्मेदवार छनौट भइरहेको र चाँडै टुँग्याउने नेताहरु बताउँछन् ।

स्थानीय तहको चुनाव भएकाले दलका नेता कार्यकर्ता टिकटका लागि दौडधुप गरिरहेका छन् । आफ्नो दलमा टिकट नपाउने सुइँको पाएपछि कतिपय अर्को दलका पुगेका छन् । सबै जसो दलमा असन्तुष्टि र किचलो बढेको छ ।

तर जनमत पार्टीमा टिकट वितरणको सन्दर्भमा त्यस्तो अवस्था नभएको नेताहरु बताउँछन् ।

जनसमर्थन, पार्टीमा योगदान गरेका, आन्दोलनमा सक्रिय सहभागिता लगायतका आधारमा बनाएर केन्द्रीय समितिले उम्मेदवारको छनौट गरिरहेको छ । ५ वैशाखामा जनकपुरधामस्थित केन्द्रीय कार्यालयमा बोलाएर १ सय १० स्थानीय तहका प्रमुख र उपप्रमुखलाई टिकट दिइएको नेताहरु बताउँछन् ।

छनौट भएका उम्मेदवारले भ्रष्टाचारमा संलग्न नहुने प्रतिवद्धता–पत्रमा हस्ताक्षर गराएर टिकट दिइएको नेत वीपी साह बताउँछन् । ‘टिकट दिए वापत १ रुपैयाँ पनि लिएका छैनौं, जिल्ला र स्थानीय तह समितिले पनि लिएको छैन,’ साहले भने, ‘उम्मेदवारले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नुपर्छ ।’

स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुले तालमेल गरेका छन् भने नेकपा एमालेले पनि राप्रपा नेपाल, परिवार दल, लोसपा लगायतसँग गठबन्धन गरेको छ ।

तर जनमत पार्टीले भने कुनै दलसँग पनि गठबन्धन नगर्ने बताउँछन् अध्यक्ष डा. सिके राउत ।

‘तालमेल गर्ने भएको भए टिकट नै वितरण गर्ने थिएनौं,’ अध्यक्ष राउत भन्छन्, ‘हामीले टिकट वितरण गरिसकेका छौं । र, केन्द्रीय समितिले कुनै किसिमको गठबन्धन नै नगर्ने निर्णय गरिसकेको अवस्थामा हामी किन गठबन्धन गर्ने ?’

अनावश्यक रुपमा आफ्नो दललाई गठबन्धनमा जोड्ने र प्रोपोगन्डा गर्ने काम भइरहेको उनले बताए ।

मंसिर २०७६ मा भएको उपनिर्वाचनमा महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा अन्जनी कुमारी मण्डल र छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ को वडाअध्यक्षमा दिनेशकुमार यादवले उम्मेदवारी दिएका थिए । राउत समूहको समर्थनमा लडेका मण्डलले ६०० मत ल्याउँदा यादवले जम्मा ११ मत मात्रै प्राप्त गरे ।

यो पटक भने राम्रो परिणाम ल्याउने जनमतको दाबी छ । उनका अनुसार आफ्नो पार्टी डेढ बर्षदेखि नै चुनावी तयारीमा लागेको भन्दै नेता वीपी साह भन्छन्, ‘यस पटक हामी पूरा तयारीमा छौं । अन्य दलले उम्मेदवार नतोकिसकेको अवस्थामा हाम्रा उम्मेदवार छनौट भई प्रचार–प्रसारमा जुटिसकेका छन ।’

पार्टी अध्यक्ष डा. राउतको दाबी छ, ‘हाम्रो पार्टीप्रति जनताको भरोसा बढ्दै गएको छ । जति ठाउँमा हाम्रो उम्मेदवारी दर्ता हुन्छ, त्यसको आधा ठाउँमा हामी जित्छौं ।’

२०७९ बैशाख १०, शनिबार ०९:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय