काठमाडौं : अभिनेत्री वर्षा सिवाकोटी बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रवार (आज) काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा प्रेमी आशिष गेलालसँग विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । वर्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन् ।

वर्षा र आशिषले जारी गरेको पोस्टमा भनिएको छ, ‘आज हामी परिवारको उपस्थितिमा एक निजी समारोहबीच आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छौं र यो कुरा बाँड्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । जब हामी जीवनको नयाँ अध्यायमा प्रवेश गर्छौं, हामी तपाइँ सबैलाई माया र समर्थनको लागि धन्यवाद दिन चाहन्छौं ।’ वर्षाले बिहेको तस्विर भने सार्वजनिक गरेकी छैनन् ।

प्राप्त जानकारी अनुसार, वर्षा र आशिषको विवाह समारोहमा डेढ सय जनाको उपस्थिति रहेको थियो । वर्षाका श्रीमान् पेशाले इन्जिनियर हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनको नेपाल घर भने बालुवाटार रहेको बुझिएको छ । गत महिना मात्र वर्षा आशिषलाई भेट्नका लागि अमेरिका गएकी थिइन् । त्यहीँ उनीहरुको विवाहको मिति तय भएको थियो ।

फिल्म ‘नाईं नभन्नू ल २’बाट अभिनेत्रीको रुपमा सुखद् डेब्यू गरेकी वर्षाले करिअरको छोटो अवधिमा दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । लिड रोलमा अभिनय गरेका प्रायः फिल्म असफल भएपनि उनको करिअरलाई त्यसले खासै असर गरेको छैन । उनको नयाँ फिल्म ‘लक्का जवान’ बैशाख २३ गते प्रदर्शनमा आउँदैछ भने ‘परदेशी २’ आउँदो दशैंमा प्रदर्शन हुँदैछ ।


२०७९ बैशाख ११, आईतवार ०६:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय